काठमाडौं । २०६१ सालमा पहिलो पटक ब्रिगेड ब्वार्ईज क्लब ए डिभिजन लिगमा बढुवा भएको थियो । त्यसयता निरन्तर लिग खेल्दै आएको उसले मंगलबार लिगमा आफ्नो सय अर्थात शतक खेल खेल्दैछ ।
लिगमा सयौ खेल खेल्दै गर्दा ब्रिगेडले प्रतिद्वन्दीको रुपमा हिमालयन शेर्पा क्लबलाई पाएको छ ।
एन्फा कम्प्लेक्स सातदोबाटोमा हुने खेल दिउँसो ३ बजे सुरु हुनेछ ।
ब्रिगेडले आफ्नो पहिलो संस्करणमा १२ खेल खेलेको थियो भने ६२ सालमा २८ खेल ।
६३ सालमा २६ खेल खेल्दा ६८ सालमा १७ खेल खेलेको थियो ।
यस्तै अन्तिम सिजन १३ खेल मात्रै खेलेको थियो ।
नयाँ सिजन ३ खेल खेलेको ब्रिगेडको समग्रमा लिगमा ९९ खेल पुर्याएको छ ।
ब्रिगेड आफ्नो शतक खेल सुखद् बनाउने लक्ष्यमा छ ।
यता हिमालयन शेर्पा क्लब पहिलो जितको खोजीमा हुनेछ ।
ब्रिगेडका ब्यवस्थापक अर्विन गुरुङ शतक खेलमा सुखद् नतिजा ल्याउने बताउँछन् ।
‘हामी लिगको सयौ खेल खेल्दैछौं । त्यसैले शेर्पाविरुद्धको खेल सुखद् बनाउने लक्ष्यमा छौं । त्यसका लागि तयार पनि छौं ।’ उनले भने ।
उनले शेर्पा र ब्रिगेडको स्तर उस्तै भएकाले आफ्नो टिम जितको लागि खेल्ने बताउँछन् ।
लिगको पहिलो खेलमा मछिन्द्रसँग २–० गोल अन्तरले पराजित ब्रिगेडले दोस्रो खेलमा फ्रेण्ड्सलाई सोहि गोल अन्तरले पराजित गरेको थियो । तेस्रो खेलमा भने मनाङसँग १–० गोल अन्तरले पराजित बनेको थियो ।
मनाङसँगको खेलमा घाईते भएका बिजय गुरुङ शेर्पाविरुद्व खेल्ने बिषयमा टुङ्गो लागेको छैन । मनाङविरुद्व खेल्ने क्रममा विजयको टाउकोमा ६ टाका लागेको छ ।
यता, हिमालयन शेर्पा क्लब समेत ब्रिगेडलाई हराउने दाउमा छ । शेर्पाका प्रशिक्षक सञ्जिव बुढाथोकी ब्रिगेडविरुद्ध जित्नका लागि खेल्ने बताउँछन् ।
‘दुबै टिम बराबरका छौं । तर तीन अंकका लागि खेल्नेछौं ।’ उनी भन्छन् ।
पहिलो र दोस्रो खेलमा विभागीय एपीएफ र पुलिससँग बराबर खेलेको शेर्पा तेस्रो खेलमा भने आर्मीसँग २–० गोल अन्तरले पराजित भएको थियो ।
लिगमा ब्रिगेड दशौं स्थानमा रहँदा शेर्पा ११ औं स्थानमा छ ।