काठमाडौं । सहिद स्मारक 'ए' डिभिजन लिग फुटबलमा साविक विजेता मनाङ मर्स्याङ्दी क्लब बराबरीमा रोकिएको छ ।
एन्फा कम्प्लेक्स सातदोबाटोमा सोमबार भएको खेलमा मनाङ फ्रेन्ड्स क्लबसँग १-१ गोलको बराबरीमा रोकिएको हो ।
खेलमा सुरुवाती अग्रता जोगाउन नसक्दा मनाङले अंक बाडेको हो ।
खेलको ११ औं मिनेटमा रन्जन बिष्टले हेड गोल गर्दै मनाङलाई अग्रता दिलाएका थिए । उनले जगजित श्रेष्ठको कर्नरमा गोल गरेका थिए ।
तर, दोस्रो हाफमा फ्रेन्ड्स खेलमा फर्कियो । भारतीय खेलाडी उत्तम राईले ६३ औं मिनेटमा गोल गर्दै फ्रेन्ड्सलाई हारबाट जोगाए । फ्रेन्ड्सबाट पहिलो खेल खेलिरहेका उनले रमेश बर्तौलाको क्रसमा हेड गोल गरेका थिए ।
फ्रेन्ड्ससँग बराबरीमा रोकिएपनि मनाङ लिगको शीर्ष स्थानमा उक्लिएको छ । मछिन्द्र क्लबलाई १ अंकले पछि पार्दै शीर्ष स्थानमा उक्लिएको मनाङले ४ खेलमा १० अंक जोडेको छ । मछिन्द्रको ९ अंक रहेको छ ।
अघिल्ला तीन खेलमा लगातार जित निकालेको मनाङले फ्रेन्ड्ससँग भने अंक बाड्न बाध्य भयो । गत सिजन पनि मनाङ फ्रेन्ड्ससँग १-० ले पराजित भएको थियो ।
फ्रेन्ड्सले भने पहिलो अंक जोडेको छ । अघिल्ला तीन खेलमा हार व्यहोरेको फ्रेन्ड्सले ४ खेलमा १ अंक जोडेको छ । फ्रेन्ड्स लिगको १३ औं स्थानमा रहेको छ ।
के भन्छन् प्रशिक्षक ?
फ्रेन्ड्सका प्रशिक्षक मार्कुस डानटसले बलियो टिमविरुद्ध एक अंक खोस्नु राम्रो भएको बताए ।
'प्राविधिक रुपमा टिमको प्रदर्शन राम्रो रह्यो । विपक्षी राम्रो टिम हो । एक अंक राम्रो हो,' उनले भने, 'अबको दिनमा राम्रो हुन्छ ।'
बराबरीपछि मनाङका प्रशिक्षक फुजा तोपेले जित्ने लक्ष्य भएको तर बराबरीमा रोकिनु परेको बताए ।
'खेल जित्ने आशा थियो र जित्ने योजना थियो तर बराबरीमा रोकिनु पर्यो,' उनले भने ।
मनाङ प्लेईङ सेट -
विमल राना, कमल श्रेष्ठ,सुरज विश्वकर्मा, फ्लोरेन्ट कोने,दीप कार्की,जीवन गुरुङ,पुजन उपरकोटी, भिदाल लुइस, फेमी जोसुवा,रन्जन बिष्ट, जगजित श्रेष्ठ
फ्रेन्ड्स प्लेईङ सेट -
सुजित गुरुङ, फिलिपे डी सौजा, सोउलो डी विनो, निशेन सुब्बा, सुरज गुरुङ, विश्व अधिकारी, प्रिजेन तामाङ, रमेश बर्तौला, सन्जोग महर्जन, सरोज योन्जन लामा, उत्तम राई