काठमाडौं । सहिद स्मारक 'ए' डिभिजन लिग फुटबलमा मछिन्द्र क्लबले तेस्रो जित निकालेको छ ।
सोमबार भएको खेलमा न्युरोड टिम एनआरटीलाई १-० गोल अन्तरले पराजित गर्दै मछिन्द्रले तेस्रो जित निकालेको हो ।
एन्फा कम्प्लेक्समा मछिन्द्रलाई जित दिलाउन एडिलाजा सोमिडेले निर्णायक गोल गरे । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ९० औं मिनेटमा एडिलाजाले हेडमार्फत निर्णायक गोल गरेका हुन् ।
मछिन्द्रलाई जित दिलाउन उत्कृष्ट प्रदर्शन गरेका आन्द्रेस निया म्यान अफ दि म्याच चुनिए ।
जितसँगै मछिन्द्र लिगको शीर्ष स्थानमा उक्लिएको छ । मछिन्द्रले ४ खेलमा ९ अंक जोडेको छ । मछिन्द्रले ३ खेलमा जित र १ बराबरी खेलेको छ ।
समान अंक भएपनि मनाङ मर्स्याङ्दी क्लबलाई गोल अन्तरमा पछि पार्दै मछिन्द्र शीर्ष स्थानाम उक्लिएको हो । तर, मनाङले एक खेल कम खेलेको छ ।
४ खेलमा ४ अंक जोडेको एनआरटी लिगको छैटौं स्थानमा रहेको छ । लिगमा एनआरटीको यो दोस्रो हार हो ।
आक्रामक मछिन्द्र, डिफेन्सिभ एनआरटी
एनआरटीको तुलनामा मछिन्द्र जितका लागि आक्रामक देखिएको थियो । तर, डिफेन्सिभ खेल खेलेको एनआरटीविरुद्ध मछिन्द्रले गोल निकाल्न निकै संघर्ष गर्यो ।
खेलको ११ औं मिनेटमा सुजल श्रेष्ठको क्रस गोल हुने अवस्थामा पुगेको थियो । तर, एनआरटीका गोलकिपर अजित प्रजापतिले डाइभ हान्दै गोल हुनबाट जोगाए ।
३५ औं मिनेटमा मछिन्द्र पुनः एकपटक अग्रता बनाउन चुक्यो । डिबक्सको ठिक बाहिरबाट देवेन्द्र तामाङको फ्रिकिक क्रसबारमा लाग्दै फर्किएको थियो । मछिन्द्रका खेलाडी र अफिसियलले रेफ्रीलाई गोलको अपिल गरेपनि रेफ्रीको गोलको मान्यता दिएन् ।
दोस्रो हाफ सुरुवातमै रञ्जित धिमालको क्रसमा अनमार्क रहेका अभिषेक रिजाल गोल गर्न चुके । डिबक्स भित्रबाट उनले पोस्ट बाहिर प्रहार गरे ।
खेलको ५२ औं मिनेटमा एडिलाजाको प्रहार क्रसबार माथिबाट बाहिरिएको थियो ।
खेलको ६१ औं मिनेटमा एनआरटी काउन्टरमा गोल गर्न चुक्यो । उसका तपन कार्कीले काउन्टरमा मछिन्द्रका गोल किपरलाई बिट गरेको प्रहार गरेको ग्रासबल दोस्रोबार हुँदै बाहिरिएको थियो ।
यस्तै ८३ मिनेटमा अभिषेक रिजालले क्रस गरेको बलमा एडेलाजाले डिबक्स भित्रबाट गरेको पावरफुल सट पहिलोबारबाट बाहिरिएको थियो ।
के भन्छन् प्रशिक्षक ?
मछिन्द्रका प्रशिक्षक प्रवेश कटवालले ३ अंक पाउँदा खुसी लागेको बताए ।
'पक्कै पनि ३ अंक पाउँदा खुसी छु । हामीले अवसर पाएर पनि गोल गर्न सकेनौ । अन्तिममा गोल हुँदा सहज भयो,' प्रवेशले भने ।
एनआरटीका प्रशिक्षक राजुकाजी शाक्यले जित्ने लक्ष्य भएपनि खेल्न नसकेको बताए ।
'खेल राम्रो भयो । जित्ने लक्ष्य थियो । खेल्न सकेनौं सकेनौं,' उनले भने ।
मछिन्द्र प्लेईङ सेट -
रञ्जित धिमाल, विराज महर्जन,रेजीन सुब्बा, विशाल श्रेष्ठ,देवेन्द्र तामाङ, सुजल श्रेष्ठ,अभिषेक रिजाल, विशाल राई, आन्द्रेस निया, पिटर सगुन, एडिलाजा सोमिडे
एनआरटी प्लेईङ सेट -
एरिक विष्ट, बिक्रम धिमाल, प्रकाश बुढाथोकी, अजित प्रजापति, अशोक थापा, शकल रेग्मी,दर्शन गुरुङ, नबिन गुरुङ, तपन कार्की ,जुनियर निकेनगुए, आन्द्रे थेरी