काठमाडौं । सहिद स्मारक 'ए' डिभिजन लिग फुटबलमा अहिले मछिन्द्र क्लब र न्युरोड टिम एनआरटीबीच प्रतिस्पर्धा भईरहेको छ ।
एन्फा कम्प्लेक्समा जारी खेलको पहिलो हाफ सकिदा मछिन्द्र र एनआरटीले गोल रहित बराबरी खेलेका छन् ।
आज मछिन्द्र जित निकाल्दै शीर्ष स्थानमा उक्लने योजनामा रहेको छ । यस्तै एनआरटी पनि तीन अंकको खोजीमा रहेको छ ।
तर, पहिलो हाफमा पाएको मौका सदुपयोग गर्न नसक्दा दुवैले बराबरी खेलेका हुन् ।
एनआरटीको तुलनामा पहिलो हाफमा मछिन्द्र आक्रामक देखिएको थियो । तर, मछिन्द्रका अभिषेक रिजाल, रेजिन सुब्बा, विशाल राई, सुजल श्रेष्ठ र एडीलाजा सोमिडे गोल गर्न बारम्बार चुकेका थिए ।
खेलको ११ औं मिनेटमा सुजल श्रेष्ठको क्रस गोल हुने अवस्थामा पुगेको थियो । तर, एनआरटीका गोलकिपर अजित प्रजापतिले डाइभ हान्दै गोल हुनबाट जोगाए ।
३४ औं मिनेटमा मछिन्द्र पुनः एकपटक अग्रता बनाउन चुक्यो । डिबक्सको ठिक बाहिरबाट देवेन्द्र तामाङको फ्रिकिक क्रसबारमा लाग्दै फर्किएको थियो । मछिन्द्रका खेलाडी र अफिसियलले रेफ्रीलाई गोलको अपिल गरेपनी रेफ्रीको गोल दिएनन् ।
मछिन्द्रविरुद्ध पहिलो हाफमा एनआरटीले डिफेन्सिभ खेल खेलेको थियो ।