काठमाडौं । गत सिजन मनाङले अपराजित रहँदै लिग उपाधि हात पार्ने लक्ष्य बनाएको थियो । सिजनको सुरुवातमै उत्कृष्ट प्रर्दशन गरेको उसले दुई खेल अगावै लिग जित्ने पक्का पनि गर्यो ।
कीर्तिमानी आठौं लिग जित्ने अभियानमा रहेको मनाङको अन्तिम खेल फिक्का बन्यो ।
उसले लिगको कमजोर मानिएको टिमसंग अन्तिम खेल गुमायो ।
निर्धारित ९० मिनेटसम्म गोल नुहँदा दुवै टिम अंक बाड्ने तयारीमा थिए । मनाङका समर्थक र खेलाडीले उपाधिको खुसीयाली मनाउन सुरु गरिसकेका थिए । तर अन्तिम समयमा एन्फा कम्प्लेक्स पुरै सुनसान बन्यो ।
थपिएको अन्तिम ६ मिनेटमा फ्रेन्ड्का विकास लामाले गोल गरे । अन्तिम समयमा गोल हुँदा मनाङले खेलमा फर्कने अवसरनै पाएन । अपराजित रहँदै लिग जित्ने मनाङको सपना साकार हुन पाएन ।
मनाङको अन्तिम सेलिब्रेसन दिनलाई फ्रेन्ड्सले पुरै खल्लो बनाउने काम गरेको थियो । उपाधि विजेतालाई अन्तिम खेलमा घुँडा टेकाउँदा फ्रेन्ड्स भने दंग देखिन्थ्यो ।
नयाँ सिजन चल्दै गर्दा मनाङ र फ्रेन्ड्सको धेरै परिवर्तन देखिन्छ । तर मनाङलाई गत सिजनमा हार ब्यहोरेको एक मात्र खेलको बदला लिने अवसर सोमबारलाई जुरेको छ ।
दुवै टिम चौथो चरणको खेलमा आमनेसामने हुँदैछन् । दुबै टिम फेरी एक पटक स्पष्ट जित निकाल्ने लक्ष्य सहित मैदान उत्रदैछन् । मनाङ गत सिजन लिगमा ब्यहोरेको हारको बदला लिने दाउमा हुनेछ भने फ्रेन्ड्स सोही जितलाई निरन्तरता दिने लक्ष्यमा हुनेछ ।
लिगमा मनाङ अपराजित छ भने फ्रेन्ड्सले अंक जोड्न सकेको छैन ।
तर यस पटक लिगमा मनाङले प्रर्दशन गत सिजनको जस्तो छैन । तर उसले आवश्यक पर्ने नतिजा भने निकालिरहेको छ । फ्रेन्ड्सविरुद्ध समेत मनाङ सोहि रणनीतिका साथ मैदान उत्रदैछ ।
मनाङका प्रशिक्षक धनेश्वर प्रजापति फ्रेन्ड्सलाई कमजोर नआँक्ने बताउँछन् ।
‘फ्रेन्डस् राम्रो टिम छ । नतिजा निकाल्न नसकेको मात्रै हो । हामी राम्रो खेल्दै तीन अंकका लागि खेल्छौ ।’ उनी भन्छन् ।
मनाङले लिगको पहिलो खेलमा विभागीय टिम एपीएफलाई २–० र आर्मी र ब्रिगेड ब्वाईजलाई समान १–० ले हराएको थियो ।
गत सिजन लिग सहित एएफसी कप खेलेका ७ खेलाडीले टिम छाडेपछि मनाङ राष्ट्रिय टिमका खेलाडी विहिन छ । अन्जन विष्ट टिममा रहेपनि प्रतिबन्धमा छन् । अन्जन मछिन्द्रसँगको खेलका लागि भने टिममा उपलब्ध हुनेछन् ।
यता, लिगमा एक गोल पनि गर्न नसकेको फ्रेन्ड्स मनाङलाई हराउने दाउमा छ ।
तीन ब्राजिलियन खेलाडीको साथ पाएको उसले प्रशिक्षकमा पनि ब्राजिलियननै झिकाएको छ ।
तर उनीहरुको स्तर भने आशलाग्दो देखिएको छैन । तर पनि फ्रेन्ड्स मनाङलाई हराउने दाबी गर्छ ।
सहायक प्रशिक्षक शुक्र तामाङ मनाङको कमजोरी आफुलाई ज्ञान भएका कारण तीन अंक बटुल्न सकिने बताउँछन् ।
‘मनाङविरद्ध तयार छौं । गत बर्ष पनि पराजित गरेका कारण यसपटक सोहि नतिजा निकाल्ने दाउमा छौं । मनोबल उच्च छ ।’ उनी भन्छन् ।
यसअघि भएको खेलमा फ्रेन्ड्स विभागीय टिम आर्मीसँग २–१, ब्रिगेड ब्वाईजसँग २–० र मछिन्द्रसँग ३–० गोल अन्तरले पराजित भएको थियो ।
मनाङ लिगको पहिलो स्थानमा रहँदा फ्रेन्ड्स १३ औं स्थानमा छ ।