काठमाडौं । गत सिजन मनाङ मर्स्याङ्दी क्लब लिग च्याम्पियन हुँदा मछिन्द्र र एनआरटीले लिगमा ५–५ गोलको बराबरी खेलेका थिए । नवौ चरणमा मात्र एक गोल गरेको मछिन्द्रले दशौं चरणमा आएर पहिलो अंक लिएको थियो ।
सरस्वती क्लबलाई ४–२ गोल अन्तरले पराजित गरेको मछिन्द्रले ११ औं चरणमा जावलाखेल युथसँग हार ब्यहोर्न पुगेको थियो । १२ औं चरणमा भने एनआरटीसँग ५–५ गोलको बराबरी खेल्दै अंक बाँडेको थियो ।
मछिन्द्रको तर्फबाट विशाल राईले दुई तथा खामिर गिल्साङ, अनिल गुरुङ र विदेशी खेलाडी डाईमन्डले एक–एक गोल गरेका थिए ।
एनआरटीको तर्फबाट म्यान अफ दि म्याच अशोक थापाले दुई तथा शुशिल लामा र विदेशी खेलाडी डिडियरले एक–एक गोल गरेका थिए ।
मछिन्द्रका गोलरक्षक दिप कार्कीले एक आत्मघाति गोल उपहार दिएका थिए ।
यसपटक भने दुवै टिम चौथो चरणमै आमने सामने हुँदैछन् ।
ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा हुने खेल बिहान साढे ११:३० बजे सुरु हुने छ ।
गत सिजन दुवै टिम कमजोर देखिन्थे । खेलाडी पनि सोही अनुसारका थिए ।
नयाँ सिजन दुवै टिम फेरिएका छन् । मछिन्द्रले गत सिजन लिग खेलेका एक खेलाडी पनि टिममा राखेको छैन । उसले पुरै सेट परिवर्तन गरेको छ ।
पहिलो पटक लिग जित्ने लक्ष्य बनाएको उसले राष्ट्रिय टिमका सात खेलाडी क्लबमा भित्र्याएको छ ।
यता एनआरटीले समेत राम्रा विदेशी सहित टिममा परिवर्तन गरेको छ । केही अनुभवी र विदेशी खेलाडी मिलाएर उसले बलियो टिम बनाएको छ ।
दुबै टिम स्पष्ट तीन अंक लिने लक्ष्य सहित मैदान उत्रदै छन् ।
राष्ट्रिय टिमका प्रशिक्षक समेत रहेका राजुकाजी शाक्य आफ्नो टिम मछिन्द्रसँग खेल्न तयार रहेको र तीन अंक लिने बताउँछन् ।
‘टिम तयार छ । खेल्न तयार छौं । मछिन्द्रविरुद्ध तीन अंक लिने लक्ष्य बनाएका छौं ।’ उनी भन्छन् ।
पहिलो खेलमा सरस्वतीलाई ४–० गोल अन्तरले पराजित गरेको एनआरटी दोस्रो खेलमा संकटा क्लबसँग १–० गोल अन्तरले पराजित भएको थियो ।
तेस्रो खेलमा च्यासललाई २–१ गोल अन्तरले पराजित गर्याे । गत सिजन लिगको पुछारमा रहेका कारण दुई अंक ऋण अंक सहित उसले लिगको सुरुवात गरेको थियो । सोही कारण उसको ४ अंक छ ।
यता, लिगमा अपराजित रहेको मछिन्द्र पनि एनआरटीलाई पराजित गर्दै कम्तिमा दुई घण्टाका लागि शीर्ष स्थानमा उक्लने दाउमा छ । राष्ट्रिय टिमका पुर्व कप्तान समेत रहेका विराज महर्जन आफ्नो टिम एनआरटीसँग खेल्न तयार रहेको र तीन अंकको लागि खेल्ने बताउँछन् ।
‘तयार गरिरहेका छौं । एनआरटी स्तरिय टिम छ । उसलाई हल्का रुपमा नलिई तीन अंकका लागि खेल्छौं ।’ उनी भन्छन् ।
एनआरटीलाई पराजित गरेमा समान ९ अंक भएपनि गोल अन्तरका आधारमा मछिन्द्र शीर्ष स्थानमा रहने छ ।
त्यसैले मछिन्द्र एनआरटीलाई पराजित गर्दै केहि समयको लागि मात्रै शीर्ष स्थानमा उक्लिन चाहन्छ ।
गत सिजन लिगको १३ औं स्थानमा रहेका कारण उसले नयाँ सिजन एक अंक ऋण बोकेर प्रतियोगिताको सुरुवात गरेको थियो । मछिन्द्रले पहिलो खेलमा ब्रिगेड ब्वाईज २–० र तेस्रो खेलमा फ्रेन्ड्सलाई ३–० गोल अन्तरले पराजित गरेको थियो । मछिन्द्र दोस्रो खेलमा च्यासलसँग १–१ को बराबरीमा रोकिएको थियो ।
मछिन्द्र लिगको तेस्रो स्थानमा रहँदा एनआरटी छैटौं स्थानमा रहेको छ ।