काठमाडौं । कतार एयरवेज सहिद स्मारक ‘ए’ डिभिजन लिगमा आज (सोमबार) दुई खेल हुँदैछन् ।
अखिल नेपाल फुटबल संघ एन्फाले चौथो चरणका सम्पुर्ण खेल ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सञ्चालन गर्न लागेको छ ।
सोमबार न्युरोड टिम एनआरटी र मछिन्द्र क्लब तथा फ्रेन्ड्स र मनाङ मस्र्याङ्दीबीच प्रतिस्पर्धा हुनेछ ।
एन्फाले यसअघि एन्फा कम्प्लेक्स र दशरथ रंगशालामा एक–एक खेल सञ्चालन गर्दै आएको थियो ।
तर नेपाल सरकारले भिजिट नेपाल २०२० (पर्यटन बर्ष) दशरथ रंगशालामा मनाउने भएपछि खेल एन्फा मैदानमा सरेको हो ।
एनआरटी र मछिन्द्रबीचको खेल साढे ११ बजे सुरु हुनेछ ।
दोस्रो खेलमा फ्रेन्ड्स र पुर्व च्याम्पियन मनाङ दिउँसो ३ बजे भिड्नेछन् ।
अपराजित मछिन्द्रले तीन खेलबाट ६ अंक जोडेको छ । गत सिजन १३ औंं स्थानमा रहेका कारण मछिन्द्रले १ अंक गुमाएको छ ।
एनआरटी पनि गत सिजन लिगको पुछारमा रहेकाले दुई अंक गुमाएको छ । त्यसैले तीन खेलबाट उसको ४ अंक मात्रै छ ।
पहिलो खेलमा एनआरटीलाई पराजित गर्दै मछिन्द्र क्लबलाई कम्तिमा दुई घण्टाका लागि शीर्ष स्थानमा उक्लिने मौका छ ।
यता, लिगको शीर्ष स्थानमा रहेको मनाङको ९ अंक छ ।
तीनै खेलमा पराजित फ्रेन्ड्सले अंक जोड्न सकेको छैन । फ्रेन्ड्सलाई पराजित गर्दै लिग तालिकामा नेतृत्व गर्ने अवसर मनाङलाई छ ।
मछिन्द्रलाई शीर्ष स्थानमा उक्लिने मौका
गत सिजन मनाङ मस्र्याङ्दी क्लब लिग च्याम्पियन हुँदा मछिन्द्र र एनआरटीले लिगमा ५–५ गोलको बराबरी खेलेका थिए । नवौ चरणमा मात्र एक गोल गरेको मछिन्द्रले दशौं चरणमा आएर पहिलो अंक लिएको थियो ।
सरस्वती क्लबलाई ४–२ गोल अन्तरले पराजित गरेको मछिन्द्रले ११ औं चरणमा जावलाखेल युथसँग हार ब्यहोर्न पुगेको थियो । १२ औं चरणमा भने एनआरटीसँग ५–५ गोलको बराबरी खेल्दै अंक बाँडेको थियो ।
मछिन्द्रको तर्फबाट विशाल राईले दुई तथा खामिर गिल्साङ, अनिल गुरुङ र विदेशी खेलाडी डाईमन्डले एक–एक गोल गरेका थिए ।
एनआरटीको तर्फबाट म्यान अफ दि म्याच अशोक थापाले दुई तथा शुशिल लामा र विदेशी खेलाडी डिडियरले एक–एक गोल गरेका थिए ।
मछिन्द्रका गोलरक्षक दिप कार्कीले एक आत्मघाति गोल उपहार दिएका थिए ।
यसपटक भने दुवै टिम चौथो चरणमै आमने सामने हुँदैछन् ।
ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा हुने खेल बिहान साढे ११ बजे सुरु हुने छ ।
गत सिजन दुवै टिम कमजोर देखिन्थे । खेलाडी पनि सोही अनुसारका थिए ।
नयाँ सिजन दुवै टिम फेरिएका छन् । मछिन्द्रले गत सिजन लिग खेलेका एक खेलाडी पनि टिममा राखेको छैन । उसले पुरै सेट परिवर्तन गरेको छ ।
पहिलो पटक लिग जित्ने लक्ष्य बनाएको उसले राष्ट्रिय टिमका सात खेलाडी क्लबमा भित्र्याएको छ ।
यता एनआरटीले समेत राम्रा विदेशी सहित टिममा परिवर्तन गरेको छ । केही अनुभवी र विदेशी खेलाडी मिलाएर उसले बलियो टिम बनाएको छ ।
दुबै टिम स्पष्ट तीन अंक लिने लक्ष्य सहित मैदान उत्रदै छन् ।
राष्ट्रिय टिमका प्रशिक्षक समेत रहेका राजुकाजी शाक्य आफ्नो टिम मछिन्द्रसँग खेल्न तयार रहेको र तीन अंक लिने बताउँछन् ।
‘टिम तयार छ । खेल्न तयार छौं । मछिन्द्रविरुद्ध तीन अंक लिने लक्ष्य बनाएका छौं ।’ उनी भन्छन् ।
पहिलो खेलमा सरस्वतीलाई ४–० गोल अन्तरले पराजित गरेको एनआरटी दोस्रो खेलमा संकटा क्लबसँग १–० गोल अन्तरले पराजित भएको थियो ।
तेस्रो खेलमा च्यासललाई २–१ गोल अन्तरले पराजित गर्याे । गत सिजन लिगको पुछारमा रहेका कारण दुई अंक ऋण अंक सहित उसले लिगको सुरुवात गरेको थियो । सोही कारण उसको ४ अंक छ ।
यता, लिगमा अपराजित रहेको मछिन्द्र पनि एनआरटीलाई पराजित गर्दै कम्तिमा दुई घण्टाका लागि शीर्ष स्थानमा उक्लने दाउमा छ । राष्ट्रिय टिमका पुर्व कप्तान समेत रहेका विराज महर्जन आफ्नो टिम एनआरटीसँग खेल्न तयार रहेको र तीन अंकको लागि खेल्ने बताउँछन् ।
‘तयार गरिरहेका छौं । एनआरटी स्तरिय टिम छ । उसलाई हल्का रुपमा नलिई तीन अंकका लागि खेल्छौं ।’ उनी भन्छन् ।
एनआरटीलाई पराजित गरेमा समान ९ अंक भएपनि गोल अन्तरका आधारमा मछिन्द्र शीर्ष स्थानमा रहने छ ।
त्यसैले मछिन्द्र एनआरटीलाई पराजित गर्दै केहि समयको लागि मात्रै शीर्ष स्थानमा उक्लिन चाहन्छ ।
गत सिजन लिगको १३ औं स्थानमा रहेका कारण उसले नयाँ सिजन एक अंक ऋण बोकेर प्रतियोगिताको सुरुवात गरेको थियो । मछिन्द्रले पहिलो खेलमा ब्रिगेड ब्वाईज २–० र तेस्रो खेलमा फ्रेन्ड्सलाई ३–० गोल अन्तरले पराजित गरेको थियो । मछिन्द्र दोस्रो खेलमा च्यासलसँग १–१ को बराबरीमा रोकिएको थियो ।
मछिन्द्र लिगको तेस्रो स्थानमा रहँदा एनआरटी छैटौं स्थानमा रहेको छ ।
फ्रेन्ड्ससँग बदला लिने मनाङलाई अवसर
गत सिजन मनाङले अपराजित रहँदै लिग उपाधि हात पार्ने लक्ष्य बनाएको थियो । सिजनको सुरुवातमै उत्कृष्ट प्रर्दशन गरेको उसले दुई खेल अगावै लिग जित्ने पक्का पनि गर्यो ।
कीर्तिमानी आठौं लिग जित्ने अभियानमा रहेको मनाङको अन्तिम खेल फिक्का बन्यो ।
उसले लिगको कमजोर मानिएको टिमसंग अन्तिम खेल गुमायो ।
निर्धारित ९० मिनेटसम्म गोल नुहँदा दुवै टिम अंक बाड्ने तयारीमा थिए । मनाङका समर्थक र खेलाडीले उपाधिको खुसीयाली मनाउन सुरु गरिसकेका थिए । तर अन्तिम समयमा एन्फा कम्प्लेक्स पुरै सुनसान बन्यो ।
थपिएको अन्तिम ६ मिनेटमा फ्रेन्ड्का विकास लामाले गोल गरे । अन्तिम समयमा गोल हुँदा मनाङले खेलमा फर्कने अवसरनै पाएन । अपराजित रहँदै लिग जित्ने मनाङको सपना साकार हुन पाएन ।
मनाङको अन्तिम सेलिब्रेसन दिनलाई फ्रेन्ड्सले पुरै खल्लो बनाउने काम गरेको थियो । उपाधि विजेतालाई अन्तिम खेलमा घुँडा टेकाउँदा फ्रेन्ड्स भने दंग देखिन्थ्यो ।
नयाँ सिजन चल्दै गर्दा मनाङ र फ्रेन्ड्सको धेरै परिवर्तन देखिन्छ । तर मनाङलाई गत सिजनमा हार ब्यहोरेको एक मात्र खेलको बदला लिने अवसर सोमबारलाई जुरेको छ ।
दुवै टिम चौथो चरणको खेलमा आमनेसामने हुँदैछन् । दुबै टिम फेरी एक पटक स्पष्ट जित निकाल्ने लक्ष्य सहित मैदान उत्रदैछन् । मनाङ गत सिजन लिगमा ब्यहोरेको हारको बदला लिने दाउमा हुनेछ भने फ्रेन्ड्स सोही जितलाई निरन्तरता दिने लक्ष्यमा हुनेछ ।
लिगमा मनाङ अपराजित छ भने फ्रेन्ड्सले अंक जोड्न सकेको छैन ।
तर यस पटक लिगमा मनाङले प्रर्दशन गत सिजनको जस्तो छैन । तर उसले आवश्यक पर्ने नतिजा भने निकालिरहेको छ । फ्रेन्ड्सविरुद्ध समेत मनाङ सोहि रणनीतिका साथ मैदान उत्रदैछ ।
मनाङका प्रशिक्षक धनेश्वर प्रजापति फ्रेन्ड्सलाई कमजोर नआँक्ने बताउँछन् ।
‘फ्रेन्डस् राम्रो टिम छ । नतिजा निकाल्न नसकेको मात्रै हो । हामी राम्रो खेल्दै तीन अंकका लागि खेल्छौ ।’ उनी भन्छन् ।
मनाङले लिगको पहिलो खेलमा विभागीय टिम एपीएफलाई २–० र आर्मी र ब्रिगेड ब्वाईजलाई समान १–० ले हराएको थियो ।
गत सिजन लिग सहित एएफसी कप खेलेका ७ खेलाडीले टिम छाडेपछि मनाङ राष्ट्रिय टिमका खेलाडी विहिन छ । अन्जन विष्ट टिममा रहेपनि प्रतिबन्धमा छन् । अन्जन मछिन्द्रसँगको खेलका लागि भने टिममा उपलब्ध हुनेछन् ।
यता, लिगमा एक गोल पनि गर्न नसकेको फ्रेन्ड्स मनाङलाई हराउने दाउमा छ ।
तीन ब्राजिलियन खेलाडीको साथ पाएको उसले प्रशिक्षकमा पनि ब्राजिलियननै झिकाएको छ ।
तर उनीहरुको स्तर भने आशलाग्दो देखिएको छैन । तर पनि फ्रेन्ड्स मनाङलाई हराउने दाबी गर्छ ।
सहायक प्रशिक्षक शुक्र तामाङ मनाङको कमजोरी आफुलाई ज्ञान भएका कारण तीन अंक बटुल्न सकिने बताउँछन् ।
‘मनाङविरद्ध तयार छौं । गत बर्ष पनि पराजित गरेका कारण यसपटक सोहि नतिजा निकाल्ने दाउमा छौं । मनोबल उच्च छ ।’ उनी भन्छन् ।
यसअघि भएको खेलमा फ्रेन्ड्स विभागीय टिम आर्मीसँग २–१, ब्रिगेड ब्वाईजसँग २–० र मछिन्द्रसँग ३–० गोल अन्तरले पराजित भएको थियो ।
मनाङ लिगको पहिलो स्थानमा रहँदा फ्रेन्ड्स १३ औं स्थानमा छ ।