काठमाडौं । सहिद स्मारक ए डिभिजन लिग फुटबलमा अहिले थ्री स्टार क्लब र एपीएफ क्लबबीच प्रतिस्पर्धा भईरहेको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी खेलको पहिलो हाफ सकिदा थ्री स्टारले १-० को अग्रता बनाएको छ । खेलको १५ औं मिनेटमा अनन्त तामाङले गोल गर्दै थ्री स्टारलाई अग्रता दिलाएका हुन् ।
दायाँ भागको कर्नर साइडबाट मिक्छेन तामाङको फ्रिकिकलाई अनन्तले हेडबाट पोस्टको दिशा दिएका हुन् । सुशान्त श्रेष्ठलाई एपीएफका डिफेन्डरले फउल गर्दा थ्री स्टारले फ्रिकिक पाएको थियो ।
त्यसअघि खेलको चौथो मिनेटमै थ्री स्टारका दिपेश घलेले डिबक्स भित्रबाट मिलाएको क्रसमा सुशील राईको हेड एपीएफका गोलरक्षक अमृत कुमार चौधरीले पन्च गर्दै बाहिर फालेका थिए ।
खेलको आठौं मिनेटमा एपीएफले गोलको सुनौलो मौका गुमायो । नविन लामाले डिबक्स भित्रबाट हानेको प्रहार थ्री स्टारका कप्तान बिक्रम लामाले क्लियर गरे ।
यस्तै १० औं मिनेटमा थ्री स्टारले गोलको सुनौलो अवसर गुमाएको थियो । एपीएफका डिफेन्डर राजन गुरुङबाट बल खोस्दै मिक्छेन तामाङले मिलाएको पासमा वान भर्सेस वानको स्थितिमा रहेका विदेशी खेलाडी हाजमातले बाहिर प्रहार गरे ।
३० औं मिनेटमा मिक्छेन तामाङको कर्नरमा कप्तान बिक्रम लामाको हेड दोस्रोबार नजिकैबाट बाहिरियो ।
यस्तै खेलको ३७ मिनेटमा दिपेश घलेको प्रहार क्रसबारमा लागेर फर्कदा थ्री स्टार अग्रता दोब्बर बनाउनबाट चुकेको थियो ।