काठमाडौं । सहिद स्मारक 'ए' डिभिजन लिग फुटबलमा अहिले विभागीय टिम त्रिभुवन आर्मी क्लब र हिमालयन शेर्पाबीच प्रतिस्पर्धा भईरहेको छ ।
एन्फा कम्प्लेक्स सातदोबाटोमा जारी खेलको पहिलो हाफ सकिदा आर्मी र शेर्पाले गोलरहित बराबरी खेलेका छन् ।
आज दुवै टिम जित निकाल्ने लक्ष्यसहित मैदानमा उत्रिएका छन् । तर, पहिलो हाफमा पाएको मौका गुमाउदा दुवैले बराबरी खेलेका हुन् ।
खेलको आठौं मिनेटमा शेर्पाका आशिष गुरुङ गोल गर्न चुके । डिबक्स भित्रबाट उनको प्रहार सशक्त नहुँदा आर्मीका गोलकिपर विकेश कुथुले सहजै बचाए ।
खेलको २५ औं मिनेटमा आर्मीले गोल गर्ने अवसर गुमायो । जर्ज प्रिन्स कार्कीको कर्नरमा विकास तामाङको हेड दोस्रोबारबाट बाहिरियो ।
३६ औं मिनेटमा आर्मीले गोलको अर्को अवसर बनायो । तर, आर्मीका जर्ज प्रिन्सले कप्तान भरतलाई निकालेको क्रस शेर्पाका गोलकिपर किशोर गिरीले सहजै बचाए ।
त्यसपछि खेलको ४१ औं मिनेटमा आर्मीले गोलको सुनौलो अवसर खेर फाल्यो । दिनेश हेम्जनले उपलब्ध गराएको बललाई कप्तान भरतले गोलरक्षक किशोरलाई बिट गरेपनि उनको प्रहार पोस्टको दोस्रोबारबाट बाहिरिएको थियो ।
आर्मीले यस अघि फ्रेन्डस् क्लबलाई २–१ गोल अन्तरले हराएको थियो भने दोस्रो खेलमा साविक विजेता मनाङलाई १–० ले नतिजा सुम्पिएको थियो ।
शेर्पाले पहिलो खेलमा नेपाल पुलिससँग गोलरहित बराबरी तथा दोस्रो खेलमा एपीएफसँग १–१ गोलको बराबरी खेलेको थियो ।