काठमाडौं । सहिद स्मारक 'ए' डिभिजन लिग फुटबलमा शुक्रबार तेस्रो चरणको अन्तिम खेलमा विभागीय क्लब नेपाल पुलिसले सरस्वती युथ क्लबसँग प्रतिस्पर्धा गर्दैछ ।
दशरथ रंगशालामा हुने खेल दिउँसो ३ बजे सुरु हुनेछ । तेस्रो चरणसम्म आईपुग्दा दुबै टिमले जित निकाल्न सकेका छैनन् । सोही कारण दुवै टिमलाई लिगमा पहिलो जित निकाल्नुपर्ने दबाब छ ।
पुलिस पहिलो खेलमा हिमालयन शेर्पा क्लबसँग गोलरहित बराबरीमा रोकिएको थियो । दोस्रो खेलमा थ्रीस्टार क्लबसँग १–० गोल अन्तरले पराजित भएको थियो ।
राष्ट्रिय टिमका तीन र अनुभवी खेलाडी साथ पाएको पुलिस सरस्वतीविरुद्ध स्पष्ट तीन अंक लिन चाहन्छ । पुलिसका मुख्य प्रशिक्षक अनन्त राज थापा सरस्वतीविरुद्ध आफ्नो टिमले लय समात्ने र तीन अंकको लागि खेल्ने बताउँछन् ।
‘सरस्वतीसँगको खेल लय समात्ने अवसर पनि हो । राम्रो खेल खेल्दै तीन अंकको लागि खेल्छौं ।’ उनी भन्छन् ।
गत सिजन दुवै टिमले एक–एक गोलको बराबरी खेलेका थिए ।
पुलिसमा राष्ट्रिय टिमका तेज तामाङ, अजित भण्डारी र रवि पासवान रहेका छन् ।
यस्तै पुर्व खेलाडीमा जुमानु राई, भोला सिलवाल र रविन श्रेष्ठ रहेका छन् । दुई बर्ष यता मैदान बाहिर रहेका रविन सरस्वतीविरुद्धको खेलसँगै पुनरागमन गर्दैछन् । चोटका कारण उनले गत सिजनको लिग पनि गुमाएका थिए ।
दुबै खेलमा पराजय भोगेको सरस्वती युथ पनि पुलिसविरुद्ध जित चाहन्छ । सरस्वती युथ टिमका मुख्य प्रशिक्षक प्रदिप नेपाल पुलिसविरुद्ध उत्कृष्ट खेल खेल्दै तीन अंक जोड्ने बताउँछन् ।
‘पुलिस राम्रो टिम हो । उत्कृष्ट खेल प्रदर्शन गर्दै पुलिसलाई हराउँन चाहन्छौं ।’ उनी भन्छन् ।
यसअघि भएको पहिलो खेलमा सरस्वती एनआरटीसँग ४–० र दोस्रो खेलमा जावलाखेल युथसँग १–० गोल अन्तरले पराजित भएको थियो ।