काठमाडौं । लिगमा सुरुवाती दुबै खेलमा हिमालयन शेर्पाले बराबरी खेलेको छ । हिमालयन शेर्पा कम्तिमा तेस्रो चरणको खेलसम्म अंक गुमाउन चाहदैन ।
कारण, लिगको तेस्रो खेलमा शेर्पा क्लबले बलियो प्रतिद्वन्दी आर्मीसंग प्रतिस्पर्धा गर्दैछ । खेल ललितपुरस्थित एन्फा मैदानमा मध्यान्न १२ बजे सुरु हुनेछ ।
आर्मी क्लब शेर्पाविरुद्ध स्पष्ट तीन अंक चाहन्छ । शेर्पा भने कम्तिमा आर्मीसँग एक अंक खोस्न चाहन्छ ।
शारीरीक तथा प्राबिधिक रुपमा अब्बल आर्मी र सन्तुलित टिम बनाएको शेर्पा अंक जोड्दै तालिकामा सुधार गर्न चाहन्छन् ।
यसअघि आर्मीले फ्रेन्डस् क्लबलाई २–१ गोल अन्तरले हराएको थियो भने दोस्रो खेलमा साविक विजेता मनाङलाई १–० ले नतिजा सुम्पिएको थियो ।
त्यसैले आर्मी क्लब शेर्पाविरुद्ध स्पष्ट तीन अंक चाहन्छ ।
आर्मी क्लबका प्रशिक्षक नविन न्यौपाने शेर्पाविरुद्ध तीन अंकका लागि खेल्ने बताउँछन् ।
‘लिग जित्ने लक्ष्यसहित हिडेका छौं । त्यसैले प्रत्येक टिमसँग तीन अंकको लागि लडाँई हुन्छ ।’ उनी भन्छन् ।
राष्ट्रिय टिमका सदस्य समेत रहेका कप्तान भरतको नेतृत्वमा आर्मीसँग राष्ट्रिय टिमका ४ सदस्य रहेका छन् ।
गोलरक्षक विकेश कुथु, रक्षक सुमन अर्याल तथा स्ट्राइरक नवयुग श्रेष्ठ र भरत खवास राष्ट्रिय टिममा रहेका छन् । सुमन भने मनाङविरुद्ध पाएको रातो कार्डका कारण शेर्पाविरुद्ध प्रतिबन्धमा हुनेछन् ।
यता, शेर्पा भने बलियो आर्मीलाई रोक्ने दाउमा रहेको छ । मुख्य प्रशिक्षक सञ्जिब बुढाथोकी आर्मीविरुद्ध सके जित, नसके एक अंक खोस्ने बताउछन् ।
उनी भन्छन्, ‘फुटबल हो नतिजा के हुन्छ भन्न सकिदैन । आर्मीलाई पराजित गर्न चाहन्छौं । नसके अंक गुमाउन चाहन्नौं ।’
यसअघि शेर्पाले नेपाल पुलिससँग गोलरहित बराबरी तथा दोस्रो खेलमा एपीएफसँग एक–एक गोलको बराबरी खेलेको थियो ।
मानबहादुर तामाङको नेतृत्वमा रहेको शेर्पा गत सिजन आर्मीसँग २–१ गोल अन्तरले पराजित हुन पुगेको थियो ।