काठमाडौं । कतार एयरवेज सहिद स्मारक ए डिभिजन लिगमा आज (शुक्रबार) दुई खेल हुँदैछन् ।
अखिल नेपाल फुटबल संघ एन्फाका अनुसार पहिलो खेलमा त्रिभुवन आर्मी क्लब र हिमालयन शेर्पा तथा दोस्रो खेलमा सरस्वती युथ क्लब र नेपाल पुलिस क्लबबीच प्रतिस्पर्धा हुनेछ ।
ललितपुरस्थित एन्फा कम्प्लेक्समा हुने पहिलो खेलमा आर्मी र शेर्पा क्लब मध्यान्न १२ बजे भिड्नेछन् ।
यस्तै, दशरथ रंगशालामा पुलिस र सरस्वती दिउँसो ३ बजे प्रतिस्पर्धामा उत्रनेछन् ।
लिगमा एक जित र एक हार ब्यहोरेको आर्मीको ३ अंक छ । दुबै खेल बराबरी खेलेको शेर्पाको २ अंक छ ।
दिनको दोस्रो खेलमा भिड्न लागेको पुलिसको १ अंक रहँदा सरस्वतीले खाता खोल्न सकेको छैन ।
पहिलो जितको खोजीमा पुलिस र सरस्वती
शुक्रबार तेस्रो चरणको अन्तिम खेलमा विभागीय क्लब नेपाल पुलिसले सरस्वती युथ क्लबसंग प्रतिस्पर्धा गर्दैछ । दशरथ रंगशालामा हुने खेल दिउँसो ३ बजे सुरु हुनेछ ।
तेस्रो चरणसम्म आईपुग्दा दुबै टिमले जित निकाल्न सकेका छैनन् । सोही कारण दुवै टिमलाई लिगमा पहिलो जित निकाल्नुपर्ने दबाब छ ।
यसअघि पुलिस हिमालयन शेर्पा क्लबसँग गोलरहित बराबरीमा रोकिएको थियो । दोस्रो खेलमा थ्रीस्टार क्लबसँग १–० गोल अन्तरले पराजित भएको थियो ।
राष्ट्रिय टिमका तीन र अनुभवी खेलाडी साथ पाएको पुलिस सरस्वतीविरुद्ध स्पष्ट तीन अंक लिन चाहन्छ । पुलिसका मुख्य प्रशिक्षक अनन्त राज थापा सरस्वतीविरुद्ध आफ्नो टिमले लय समात्ने र तीन अंकको लागि खेल्ने बताउँछन् ।
‘सरस्वतीसँगको खेल लय समात्ने अवसर पनि हो । राम्रो खेल खेल्दै तीन अंकको लागि खेल्छौं ।’ उनी भन्छन् ।
गत सिजन दुवै टिमले एक–एक गोलको बराबरी खेलेका थिए ।
पुलिसमा राष्ट्रिय टिमका तेज तामाङ, अजित भण्डारी र रवि पासवान रहेका छन् ।
यस्तै पुर्व खेलाडीमा जुमानु राई, भोला सिलवाल र रविन श्रेष्ठ रहेका छन् । दुई बर्ष यता मैदान बाहिर रहेका रविन सरस्वतीविरुद्धको खेलसँगै पुनरागमन गर्दैछन् । चोटका कारण उनले गत सिजनको लिग पनि गुमाएका थिए ।
दुबै खेलमा पराजय भोगेको सरस्वती युथ पनि पुलिसविरुद्ध जित चाहन्छ । सरस्वती युथ टिमका मुख्य प्रशिक्षक प्रदिप नेपाल पुलिसविरुद्ध उत्कृष्ट खेल खेल्दै तीन अंक जोड्ने बताउँछन् ।
‘पुलिस राम्रो टिम हो । उत्कृष्ट खेल प्रदर्शन गर्दै पुलिसलाई हराउँन चाहन्छौं ।’ उनी भन्छन् ।
यसअघि भएको पहिलो खेलमा सरस्वती एनआरटीसँग ४–० र दोस्रो खेलमा जावलाखेल युथसँग १–० गोल अन्तरले पराजित भएको थियो ।
आर्मीसँग अंक खोस्ने दाउमा शेर्पा
लिगमा सुरुवाती दुबै खेलमा हिमालयन शेर्पाले बराबरी खेलेको छ । हिमालयन शेर्पा कम्तिमा तेस्रो चरणको खेलसम्म अंक गुमाउन चाहदैन ।
कारण, लिगको तेस्रो खेलमा शेर्पा क्लबले बलियो प्रतिद्वन्दी आर्मीसंग प्रतिस्पर्धा गर्दैछ । खेल एन्फा मैदानमा मध्यान्न १२ बजे सुरु हुनेछ ।
आर्मी क्लब शेर्पाविरुद्ध स्पष्ट तीन अंक चाहन्छ । शेर्पा भने कम्तिमा आर्मीसँग एक अंक खोस्न चाहन्छ ।
शारीरीक तथा प्राबिधिक रुपमा अब्बल आर्मी र सन्तुलित टिम बनाएको शेर्पा अंक जोड्दै तालिकामा सुधार गर्न चाहन्छन् ।
यसअघि आर्मीले फ्रेन्डस् क्लबलाई २–१ गोल अन्तरले हराएको थियो भने दोस्रो खेलमा साविक विजेता मनाङलाई १–० ले नतिजा सुम्पिएको थियो ।
त्यसैले आर्मी क्लब शेर्पाविरुद्ध स्पष्ट तीन अंक चाहन्छ ।
आर्मी क्लबका प्रशिक्षक नविन न्यौपाने शेर्पाविरुद्ध तीन अंकका लागि खेल्ने बताउँछन् ।
‘लिग जित्ने लक्ष्यसहित हिडेका छौं । त्यसैले प्रत्येक टिमसँग तीन अंकको लागि लडाँई हुन्छ ।’ उनी भन्छन् ।
राष्ट्रिय टिमका सदस्य समेत रहेका कप्तान भरतको नेतृत्वमा आर्मीसँग राष्ट्रिय टिमका ४ सदस्य रहेका छन् ।
गोलरक्षक विकेश कुथु, रक्षक सुमन अर्याल तथा स्ट्राइरक नवयुग श्रेष्ठ र भरत खवास राष्ट्रिय टिममा रहेका छन् । सुमन भने मनाङविरुद्ध पाएको रातो कार्डका कारण शेर्पाविरुद्ध प्रतिबन्धमा हुनेछन् ।
यता, शेर्पा भने बलियो आर्मीलाई रोक्ने दाउमा रहेको छ । मुख्य प्रशिक्षक सञ्जिब बुढाथोकी आर्मीविरुद्ध सके जित, नसके एक अंक खोस्ने दाउमा छन् ।
उनी भन्छन्, ‘फुटबल हो नतिजा के हुन्छ भन्न सकिदैन । आर्मीलाई पराजित गर्न चाहन्छौं । नसके अंक गुमाउन चाहन्नौं ।’
यसअघि शेर्पाले नेपाल पुलिससँग गोलरहित बराबरी तथा दोस्रो खेलमा एपीएफसँग एक–एक गोलको बराबरी खेलेको थियो ।
मानबहादुर तामाङको नेतृत्वमा रहेको शेर्पाले गत सिजन आर्मीसँग २–१ गोल अन्तरले पराजित हुन पुगेको थियो ।