काठमाडौं । सहिद स्मारक ए डिभिजन लिगको दोस्रो चरणको खेल सकिदाँ जावलाखेल अपराजित छ । त्यही हार विहिन यात्रालाई निरन्तरता दिने लक्ष्य सहित बिहिबार जावलाखेल संकटाविरुद्ध मैदान उत्रदैछ ।
खेल दशरथ रंगशालामा दिनको ३ बजे सुरु हुनेछ ।
लिगमा जावलाखेल अपराजित रहदाँ संकटा पहिलो खेलमा च्यासल युथसँग पराजित भएको थियो ।
थ्रीस्टारसँग पहिलो खेलमा अंक खोस्न सफल जावलाखेलले दोस्रो खेलमा सरस्वती युथ क्लबलाई पराजित गरको थियो ।
यता गत सिजनको उपविजेता संकटा पहिलो खेलमै च्यासलसँग पराजित बन्यो । उसले लिगको दोस्रो खेलमा एनआरटीलाई १–० गोल अन्तरले हराएको थियो ।
गत सिजनको उपविजेता संकटा भने जावलाखेलविरुद्ध स्पष्ट तीन अंक लिने दाउमा छ । जावलाखेललाई पराजित गर्दै संकटा लिगको तेस्रो स्थानमा उक्लिन चाहन्छ ।
संकटाका प्रशिक्षक विजय महर्जन जावलाखेललाई सहज रुपमा नलिने र जितको लागि मैदान उत्रने बताउँछन् ।
‘जावलाखेललाई हल्का रुपमा लिदैनौ । जितको लागि खेल्नेछौं ।’ उनी भन्छन् ।
पहिलो खेलमा च्यासलसँग पराजित भएपछि संकटाले घरेलु फुटबलका गोल मेसिन मानिने कर्ण लिम्बु र विष्णु सुनुवारलाई क्लबमा अनुबन्धन गरेको छ ।
गत सिजन संकटाले जावलाखेललाई हराएको थियो । उसले जावलाखेललाई २–० गोल अन्तरले पराजित गरेको थियो ।
यता जावलाखेल पनि संकटाविरुद्ध जितको बिकल्पबारे सोचेको छैन ।
प्रशिक्षक नरेश गिरी संकटाविरुद्ध तीन अंक बटुल्न खेलाडी तयार रहेको बताउँछन् ।
‘संकटाविरुद्ध खेल्न तयार छौं । तीन अंकका लागि खेल्छौं ।’ उनी भन्छन् ।
यता जावलाखेललाई पनि लिगको शीर्ष स्थानमा उक्लिने मौका छ । पहिलो खेलमा मनाङ निराश भएमा जावलाखेल जित निकाल्दै लिगको शीर्ष स्थानमा उक्लिन सक्नेछ ।