काठमाडौं । सहिद स्मारक ए डिभिजन लिगमा आज बिहिबार साविक विजेता च्याम्पियन मनाङ मर्स्याङ्दी क्लबले ब्रिगेड ब्वाईजसँग प्रतिस्पर्धा गर्दैछ ।
मनाङले लिगको तेस्रो चरणमा अधिकांश युवा खेलाडी समावेश गरेको ब्रिगेडसँग प्रतिस्पर्धा गर्न लागेकाे हो । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा खेल १२ बजे सुरु हुनेछ ।
दुबै टिम स्पष्ट तीन अंक हासिल गर्ने लक्ष्य सहित मैदान उत्रने बताएका छन् ।
मनाङ भने अनिल गुरुङ नेतृत्वको युवा टिमसँग सहज रुपमा तीन अंक लिन चाहन्छ ।
राष्ट्रिय टिमका पूर्व कप्तान समेत रहेको अनिलले लामो समय मनाङको जर्सीमा घरेलु फुटबलमा प्रभाव जमाएका थिए । उनै अनिलको कप्तानीमा रहेको ब्रिगेड घरेलु फुटबलको महारथी क्लब मनाङलाई राम्रो टक्कर दिने लक्ष्यमा छ ।
अनुभवी र राष्ट्रिय टिमका अधिकांश अनुहारले क्लब छाडेपनि मनाङले सुरुवाती दुई खेलमा जित निकाल्न सफल रहयो । उसले दुवै खेलमा विभागीय टिमलाई पराजित गर्यो ।
राष्ट्रिय टिमका अधिकांश खेलाडीले क्लब छाडेपछि मनाङले दुखेसो पोखेको छैन ।
मनाङका विदेशी प्रशिक्षक फुजा तोपेको साथमा रहेका धनेश्वर प्रजापति ब्रिगेडविरुद्ध स्पष्ट तीन अंकको लागि खेल्ने बताउँछन् ।
‘व्रिगेड राम्रो टिम हो । राम्रो खेलिरहेको छ । तर जित्नका लागि खेल्छौं ।’ उनी भन्छन् ।
मनाङले यसअघि भएको पहिलो खेलमा एपीएफलाई २–० तथा आर्मीलाई १–० गोल अन्तरले पराजित गरेको थियो ।
गत सिजनको खेलमा मनाङविरुद्व अप्रत्यासित अग्रता लिएको ब्रिगेडले अन्तिममा खेल ३–१ ले गुमाएको थियो ।
साेही कारण ब्रिगेडसंग मनाङ सचेत भएर खेल्नुपर्ने हुन सक्छ ।
ब्रिगेड पनि मनाङलाई पराजित गर्दै महत्वपुर्ण तीन अंक लिने दाउमा छ । क्लब लगातार दोस्रो जित निकाल्न चाहन्छ ।
ब्रिगेड ब्वाईजका ब्यवस्थापक अर्विन कार्की मनाङविरुद्ध जितका लागि खेल्ने बताउँछन् ।
‘मनाङ बलियो टिम हो । तर तीन अंकको लागि खेल्नेछौं ।’ उनी भन्छन् ।
पहिलो खेलमा ब्रिगेडले मछिन्द्रलाई २–० ले नतिजा सुम्पिएको थियो । दोस्रो खेलमा फ्रेन्ड्स क्लबलाई हराएको थियो ।