काठमाडौं । कतार एयरवेज सहिद स्मारक ए डिभिजन लिगमा आज (विहीबार) दुई खेल हुँदैछन् ।
अखिल नेपाल फुटबल संघ एन्फाका अनुसार पहिलो खेलमा ब्रिगेड ब्वाईज क्लब र मनाङ मस्याङ्दी क्लब तथा दोस्रो खेलमा संकटा क्लब र जावलाखेल युथ क्लबबीच प्रतिस्पर्धा हुँदैछ ।
पहिलो खेल एन्फा कम्प्लेक्समा मध्यान्न १२ बजे सुरु हुनेछ ।
दशरथ रंगशालामा हुने संकटा र जावलाखेलबीचको दोस्रो खेल दिउँसो ३ बजे सुरु हुनेछ ।
लिगको शीर्षस्थानमा पुग्न मनाङलाई आजको खेलमा बराबरीनै पर्याप्त छ । उसको २ खेलबाट ६ अंक छ । मनाङ गोल अन्तरका आधारमा मछिन्द्र भन्दा पछाडी रहेको छ ।
यस्तै ब्रिगेड एक जित र एक हारसहित ३ अंक बटुल्दै लिगको सातौं स्थानमा हरेको छ ।
यता, अपराजित जावलाखेलको पनि २ खेलबाट ४ अंकको रहेको छ ।
जावलाखेललाई पनि संकटाविरुद्ध जित निकाल्दै शीर्षस्थान उक्लने अवसर छ ।
तर पहिलो खेलमा मनाङ पराजित भएको समिकरण तय हुनुपर्नेछ । संकटा एकमा जित र एकमा हार सहित लिगको आठौं स्थानमा रहेको छ ।
अग्रता लिने मनाङलाई अवसर
पुर्व च्याम्पियन मनाङ मर्स्याङ्दी क्लबलाई फेरि एक पटक लिगमा अग्रता लिने अवसर छ ।
बिहीबार हुने लिगको पहिलो खेलमा उसले ब्रिगेड ब्वाईजसंग प्रतिस्पर्धा गर्दैछ ।
मनाङले लिगको तेस्रो चरणमा अधिकांश युवा खेलाडी समावेश गरेको ब्रिगेडसंग प्रतिस्पर्धा गर्न लागेकाे हो । खेल सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा हुनेछ ।
दुबै टिम स्पष्ट तीन अंक हासिल गर्ने लक्ष्य सहित मैदान उत्रने बताएका छन् ।
मनाङ भने अनिल गुरुङ नेतृत्वको युवा टिमसँग सहज रुपमा तीन अंक लिन चाहन्छ ।
राष्ट्रिय टिमका पुर्व कप्तान समेत रहेको अनिलले लामो समय मनाङको जर्सीमा घरेलु फुटबलमा प्रभाव जमाएका थिए । उनै अनिलको कप्तानीमा रहेको ब्रिगेड घरेलु फुटबलको महारथी क्लब मनाङलाई राम्रो टक्कर दिने लक्ष्यमा छ ।
अनुभवी र राष्ट्रिय टिमका अधिकांश अनुहारले क्लब छाडेपनि मनाङले सुरुवाती दुई खेलमा जित निकाल्न सफल रहयो । उसले दुवै खेलमा विभागीय टिमलाई पराजित गर्यो ।
राष्ट्रिय टिमका अधिकांश खेलाडीले क्लब छाडेपछि मनाङले दुखेसो पोखेको छैन ।
मनाङका विदेशी प्रशिक्षक फुजा तोपेको साथमा रहेका धनेश्वर प्रजापति ब्रिगेडविरुद्ध स्पष्ट तीन अंकको लागि खेल्ने बताउँछन् ।
‘व्रिगेड राम्रो टिम हो । राम्रो खेलिरहेको छ । तर जित्नका लागि खेल्छौं ।’ उनी भन्छन् ।
मनाङले यसअघि भएको पहिलो खेलमा एपीएफलाई २–० तथा आर्मीलाई १–० गोल अन्तरले पराजित गरेको थियो ।
गत सिजनको खेलमा मनाङविरुद्व अप्रत्यासित अग्रता लिएको ब्रिगेडले अन्तिममा खेल ३–१ ले गुमाएको थियो ।
साेही कारण ब्रिगेडसंग मनाङ सचेत भएर खेल्नुपर्ने हुन सक्छ ।
ब्रिगेड पनि मनाङलाई पराजित गर्दै महत्वपुर्ण तीन अंक लिने दाउमा छ । क्लब लगातार दोस्रो जित निकाल्न चाहन्छ ।
ब्रिगेड ब्वाईजका ब्यवस्थापक अर्विन कार्की मनाङविरुद्ध जितका लागि खेल्ने बताउँछन् ।
‘मनाङ बलियो टिम हो । तर तीन अंकको लागि खेल्नेछौं ।’ उनी भन्छन् ।
पहिलो खेलमा ब्रिगेडले मछिन्द्रलाई २–० ले नतिजा सुम्पिएको थियो । दोस्रो खेलमा फ्रेन्ड्स क्लबलाई हराएको थियो ।
अपराजित रहने जावलाखेलको दाउ
लिगको दोस्रो चरणको खेल सकिदाँ जावलाखेल अपराजित छ । त्यही हार विहिन यात्रालाई निरन्तरता दिने लक्ष्य सहित संकटाविरुद्ध मैदान उत्रदैछ ।
खेल दशरथ रंगशालामा दिनको ३ बजे सुरु हुनेछ ।
लिगमा जावलाखेल अपराजित रहदाँ संकटा पहिलो खेलमा च्यासल युथसंग पराजित भएको थियो ।
थ्रीस्टारसँग पहिलो खेलमा अंक खोस्न सफल जावलाखेलले दोस्रो खेलमा सरस्वती युथ क्लबलाई पराजित गरको थियो ।
यता गत सिजनको उपविजेता संकटा पहिलो खेलमै च्यासलसँग पराजित बन्यो । उसले लिगको दोस्रो खेलमा एनआरटीलाई १–० गोल अन्तरले हराएको थियो ।
गत सिजनको उपविजेता संकटा भने जावलाखेलविरुद्ध स्पष्ट तीन अंक लिने दाउमा छ । जावलाखेललाई पराजित गर्दै संकटा लिगको तेस्रो स्थानमा उक्लिन चाहन्छ ।
संकटाका प्रशिक्षक विजय महर्जन जावलाखेललाई सहज रुपमा नलिने र जितको लागि मैदान उत्रने बताउँछन् ।
‘जावलाखेललाई हल्का रुपमा लिदैनौ । जितको लागि खेल्नेछौं ।’ उनी भन्छन् ।
पहिलो खेलमा च्यासलसँग पराजित भएपछि संकटाले घरेलु फुटबलका गोल मेसिन मानिने कर्ण लिम्बु र विष्णु सुनुवारलाई क्लबमा अनुबन्धन गरेको छ ।
गत सिजन संकटाले जावलाखेललाई हराएको थियो । उसले जावलाखेललाई २–० गोल अन्तरले पराजित गरेको थियो ।
यता जावलाखेल पनि संकटाविरुद्ध जितको बिकल्पबारे सोचेको छैन ।
प्रशिक्षक नरेश गिरी संकटाविरुद्ध तीन अंक बटुल्न खेलाडी तयार रहेको बताउँछन् ।
‘संकटाविरुद्ध खेल्न तयार छौं । तीन अंकका लागि खेल्छौं ।’ उनी भन्छन् ।
यता जावलाखेललाई पनि लिगको शीर्ष स्थानमा उक्लिने मौका छ । पहिलो खेलमा मनाङ निराश भएमा जावलाखेल जित निकाल्दै लिगको शीर्ष स्थानमा उक्लिन सक्नेछ ।