काठमाडौं । न्युरोड क्लब एनआरटीका प्रशिक्षक राजुकाजी शाक्यले फुटबल हेर्ने प्रशंसक क्लबले ल्याउनु पर्ने बताएका छन् ।
सहिद स्मारक ए डिभिजन लिगमा दर्शक नभएको चर्चा गर्दै उनले फुटबल प्रशंसक ल्याउने जिम्मेवारी क्लबहरुको हुने बताए ।
‘फ्यानहरु क्लबले ल्याउने हो । एन्फाले हैन ।’ च्यासल युथविरुद्व जित हात पारेपछि पत्रकार सम्मेलनमा शाक्यले भने ।
लिगको स्तर राम्रो भए राष्ट्रिय टिम राम्रो बन्ने उल्लेख गर्दै उनले रंगशालामा दर्शक बढाउन क्लबहरुले भुमिका खेल्नुपर्ने बताए ।
विदेशी लिगको उदाहरण दिदै शाक्यले दर्शक र प्रशंसकले मात्र फुटबल क्लब सफल हुने धारणा राखे ।
'बाहिरका दर्शक हामीले खेल हेरेन भने खेलाडीले कसरी तलब खाने भनेर सोच्छन् । अब हामीले सोच्नुपर्यो ।' उनले भने ।
रंगशालामा दर्शक ल्याउन एन्फा र क्लबले संयुक्त रुपमा कार्यक्रमहरु अघि बढाउनुपर्ने धारणा राखे ।
लिगको तेस्रो चरणका खेलहरु चलिरहँदा रंगशालाका प्यारापिट दर्शक विहिन छ । सोही कारण अखिल नेपाल फुटबल संघ एन्फाले टिकट काट्ने दर्शकलाई पुरस्कारको समेत घोषणा गरेको थियो ।
तर एन्फाले घोषणा गरेको प्याकेजले दर्शकलाई रंगशालासम्म तान्न सकेको देखिदैन ।