काठमाडौं ।
एक समय थियो, घरेलु फुटबलमा पुलिस नम्बर एक टिम थियो ।
मोफसल होस वा लिग फुटबल, पुलिसलाई हराउन सबैलाई गाह्रो पर्दथ्यो । हरि खड्का, अनन्त राज थापा, रमेश बुढाथोकी, अनिल अधिकारी सहितको पुस्ताले तीन पटक लिग उपाधि जितेको थियो ।
स्वर्णिम पुस्ताका खेलाडी सम्मिलित पुलिसले ५१ खेलसम्म अपराजित रहेको ईतिहास छ ।
समयसंगै पुलिसको दबदबा घरेलु फुटबलमा बिस्तारै सेलाउँदै गयो ।
पुलिस खेलाडीको रोजाईमा पर्न छाड्यो । घरेलु फुटबलमा पुलिस बिस्तारै कमजोर हुन थाल्यो ।
पुन एक पटक पुलिस लिगमा आफ्नो उपाधि दाबेदारिता प्रस्तुत गर्दैछ । लिगको पाँचौ खेलमा पुलिसले हिमालयन शेर्पासंग खेल्दै नयाँ सिजनको सुरुवात गर्दैछ । खेल दशरथ रंगशाला दिउँसो साढे २ बजे सुरु हुनेछ ।
पुलिस पहिलो खेलमा हिमालयन शेर्पासंग तीन अंक बटुल्न चाहन्छ । यता, शेर्पा पुलिसलाई हराउँदै लिगमा सुखद सुरुवात गर्न चाहन्छ ।
हाल ए लाइसेन्सको तयारीमा रहेका पुलिसका प्रशिक्षक अनन्त राज थापाले लिग जित्ने लक्ष्य सहित लिगको सुरुवात गर्ने बताउँछन् ।
“हामी लिग जित्ने लक्ष्य सहित खेल्दै छौँ । पहिलो खेल निकै महत्वपुर्ण हुन्छ । शेर्पाविरुद्ध तीन अङ्कका लागि खेल्छौ ।“ उनले भने ।
राष्ट्रिय टिमका तीन स्टार खेलाडी सम्मिलित पुलिस केही अनुभवी खेलाडी सहित मैदान उत्रनेछ ।
राष्ट्रिय फुटबल टिमका तेज तामाङ, रबि पासवान र अजित भण्डारी पुलिसका नियमित सदस्य हुन् । अनुभवी खेलाडी भोला सिलवाल, कप्तान जुमानु राई र सुमन सुवेदी पुलिसको जर्सीमा हुनेछन् ।
पुलिससंग गत सिजन लिग खेलेका दिनेश राजबंशी, अभिषेक रिजाल, रेजिन सुब्बा, अर्पण कार्की, पुर्ब कप्तान बिक्रम धिमाल, हरि कठायत हुने छैनन । उनीहरु अन्य क्लब लागिसकेका छन् ।
गत सिजन पुलिस र शेर्पाले १–१ को बराबरी खेल्दै अंक बाँडेका थिए । शेर्पाका बिश्वास श्रेष्ठ म्यान अफ दि म्याच भए । हाल उनी शेर्पामै छन् ।
यता, औसत टिम सहित मैदान उत्रन लागेको हिमालय शेर्पा क्लबका प्रशिक्षक संजिब बुढाथोकी पुलिसविरुद्ध कम्तिमा अंक खोस्ने योजना रहेको बताउँछन् ।
“पुलिस बलियो टिम छ, खेलाडी तयार छन् । सकेसम्म जित्ने लक्ष्यमा हुनेछौ । तर अंक गुमाउन चाहदैनौ ।“ उनी भन्छन् ।
कुनै समय थ्री स्टार क्लबका स्टार खेलाडी बुढाथोकीले पुलिसलाई नजिकैबाट नियालिरहेको बताउँछन् । बी लाईसेन्स सकेका बुढाथोकी लिगको डेब्यु खेल सुखद बनाउने योजनामा छन् । तर राम्रा खेलाडी र तयारी नहुँदा क्लबलाई लिगमा निकै संघर्ष गर्नुपर्ने तथ्यबारे उनी जानकार छन् ।
कप्तान मान बहादुर तामाङ, बिश्वास श्रेष्ठ र किशोर गिरी मात्रै शेर्पाका चलेका अनुहार हुन् । मिश्रित टिम सहित लिग खेल्न थालेको शेर्पा अन्तिम चारमा अट्ने योजनामा छ ।
गत बर्ष १३ खेलबाट पुलिस १९ अङ्क सहित छैटौं भएको थियो । शेर्पा १७ अङ्क बटुल्दै सातौं भएको थियो ।