काठमाडौ । कतार एयरवेज सहिद स्मारक ए डिभिजन लिग अन्तर्गत आज (मंगलबार) दुई खेल हुँदैछन् ।
लिगको तेस्रो दिन मंगलबार दशरथ रंगशाला र एन्फा कम्प्लेक्समा एक–एक खेल हुनेछन् ।
मंगलबार पहिलो खेलमा न्युरोड टिम एनआरटी र सरस्वतीबीच प्रतिस्पर्धा हुनेछ ।
खेल सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा दिनको साढे १२ बजे सुरु हुनेछ ।
यस्तै, दशरथ रंगशालामा हुने दोस्रो खेलमा विभागीय टिम नेपाल पुलिस क्लब र हिमालयन शेर्पा दिउँसो साढे २ बजे आमनेसामने हुनेछन् ।
तीन अंकको भिडन्त
गत बर्षको लिगमा रेलिगेशन थिएन । एनआरटी भाग्यबस रेलिगेशनबाट बच्यो । कारण एनआरटीले अन्तिममा रहेर लिगको अन्त्य गरेको थियो ।
यस पटक एनआरटी दुई अंक गुमाएर लिगको सुरुवात गर्नेछ । गत सिजन अन्तिम स्थानमा भएको कारण एनआरटीले स्वत दुई अंक गुमाउनेछ ।
मंगलबार लिगको चौथो खेलमा एनआरटीले सरस्वती युथ क्लबसंग प्रतिस्पर्धा गर्न लागेको हो । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा हुने खेल मध्यान्न साढे १२ बजे सुरु हुनेछ ।
लिगको पहिलो खेलमा दुबै टिम स्पष्ट तीन अङ्क बटुल्न प्रयास गर्नेछन् ।
एनआरटीका मुख्य प्रशिक्षक राजुकाजी शाक्य पहिलो खेल निकै महत्वपूर्ण हुने हुँदा तीन अंकको लागि खेल्ने बताउँछन् ।
“पहिलो खेल सबै क्लबको लागि महत्वपूर्ण हुन्छ । त्यसैले सरस्वतीविरुद्ध तीन अंकको लागि खेल्छौ ।“ गतबर्ष च्यासल युथ क्लब हेरेका शाक्य भन्छन् ।
उनको प्रशिक्षणमा गतबर्ष च्यासलले आठौंं स्थान प्राप्त गरेको थियो । नेपाल यू–२३ टिम समेत हेरिसकेका उनी एनआरटीलाई शीर्ष ६ भित्र अटाउने लक्ष्यमा छन् ।
एनआरटीले यस पटक राष्ट्रिय टिमका पुर्ब सदस्य प्रकाश बुढाथोकी, सागका स्वर्ण बिजेता टिमका सदस्य स्ट्राइकर राजेश पराजुली सहित नेपाल पुलिस क्लबका पुर्ब कप्तान बिक्रम धिमाललाई मुख्य खेलाडीको रुपमा क्लबमा जोडेको छ ।
गत सिजन दुवै क्लबको भिडन्तमा सरस्वतीले २–१ ले बाजी मारेको थियो ।
खेलमा सरस्वतीका राज शाही म्यान अफ दि म्याच घोषित भएका थिए ।
यता, सरस्वतीका प्रशिक्षम प्रदिप नेपाल पुन एनआरटीलाई लिगमा हराउने योजना रहेको बताउँछन् । गत बर्ष सरस्वती हेरेका उनी एनआरटीसंग सोही नतिजा निकाल्ने प्रष्ट पार्छन् ।
“एनआरटीविरुद्ध खेल्न टिम तयार छ, खेलाडी तयार छन् । हामी तीन अंकको लागि खेल्छौ ।“ उनी भन्छन् ।
प्रशिक्षक नेपाल क्लबका बिदेशी खेलाडी पहिलो खेलमै उपलब्ध हुने कारण जित निकाल्न सहज हुने बताउँछन् ।
लिगको चौथो खेलसम्म आईपुग्दा अन्य क्लबको भिषा समस्या आउँदा बिदेशी खेलाडी खेल्न पाएका छैनन् ।
पुलिससंग अंक खोस्ने शेर्पाको दाउ
एक समय थियो, घरेलु फुटबलमा पुलिस नम्बर एक टिम थियो ।
मोफसल होस वा लिग फुटबल, पुलिसलाई हराउन सबैलाई गाह्रो पर्दथ्यो । हरि खड्का, अनन्त राज थापा, रमेश बुढाथोकी, अनिल अधिकारी सहितको पुस्ताले तीन पटक लिग उपाधि जितेको थियो ।
स्वर्णिम पुस्ताका खेलाडी सम्मिलित पुलिसले ५१ खेलसम्म अपराजित रहेको ईतिहास छ ।
समयसंगै पुलिसको दबदबा घरेलु फुटबलमा बिस्तारै सेलाउँदै गयो ।
पुलिस खेलाडीको रोजाईमा पर्न छाड्यो । घरेलु फुटबलमा पुलिस बिस्तारै कमजोर हुन थाल्यो ।
पुन एक पटक पुलिस लिगमा आफ्नो उपाधि दाबेदारिता प्रस्तुत गर्दैछ । लिगको पाँचौ खेलमा पुलिसले हिमालयन शेर्पासंग खेल्दै नयाँ सिजनको सुरुवात गर्दैछ । खेल दशरथ रंगशाला दिउँसो साढे २ बजे सुरु हुनेछ ।
पुलिस पहिलो खेलमा हिमालयन शेर्पासंग तीन अंक बटुल्न चाहन्छ । यता, शेर्पा पुलिसलाई हराउँदै लिगमा सुखद सुरुवात गर्न चाहन्छ ।
हाल ए लाइसेन्सको तयारीमा रहेका पुलिसका प्रशिक्षक अनन्त राज थापाले लिग जित्ने लक्ष्य सहित लिगको सुरुवात गर्ने बताउँछन् ।
“हामी लिग जित्ने लक्ष्य सहित खेल्दै छौँ । पहिलो खेल निकै महत्वपुर्ण हुन्छ । शेर्पाविरुद्ध तीन अङ्कका लागि खेल्छौ ।“ उनले भने ।
राष्ट्रिय टिमका तीन स्टार खेलाडी सम्मिलित पुलिस केही अनुभवी खेलाडी सहित मैदान उत्रनेछ ।
राष्ट्रिय फुटबल टिमका तेज तामाङ, रबि पासवान र अजित भण्डारी पुलिसका नियमित सदस्य हुन् । अनुभवी खेलाडी भोला सिलवाल, कप्तान जुमानु राई र सुमन सुवेदी पुलिसको जर्सीमा हुनेछन् ।
पुलिससंग गत सिजन लिग खेलेका दिनेश राजबंशी, अभिषेक रिजाल, रेजिन सुब्बा, अर्पण कार्की, पुर्ब कप्तान बिक्रम धिमाल, हरि कठायत हुने छैनन । उनीहरु अन्य क्लब लागिसकेका छन् ।
गत सिजन पुलिस र शेर्पाले १–१ को बराबरी खेल्दै अंक बाँडेका थिए । शेर्पाका बिश्वास श्रेष्ठ म्यान अफ दि म्याच भए । हाल उनी शेर्पामै छन् ।
यता, औसत टिम सहित मैदान उत्रन लागेको हिमालय शेर्पा क्लबका प्रशिक्षक संजिब बुढाथोकी पुलिसविरुद्ध कम्तिमा अंक खोस्ने योजना रहेको बताउँछन् ।
“पुलिस बलियो टिम छ, खेलाडी तयार छन् । सकेसम्म जित्ने लक्ष्यमा हुनेछौ । तर अंक गुमाउन चाहदैनौ ।“ उनी भन्छन् ।
कुनै समय थ्री स्टार क्लबका स्टार खेलाडी बुढाथोकीले पुलिसलाई नजिकैबाट नियालिरहेको बताउँछन् । बी लाईसेन्स सकेका बुढाथोकी लिगको डेब्यु खेल सुखद बनाउने योजनामा छन् । तर राम्रा खेलाडी र तयारी नहँुदा क्लबलाई लिगमा निकै संघर्ष गर्नुपर्ने तथ्यबारे उनी जानकार छन् ।
कप्तान मान बहादुर तामाङ, बिश्वास श्रेष्ठ र किशोर गिरी मात्रै शेर्पाका चलेका अनुहार हुन् । मिश्रित टिम सहित लिग खेल्न थालेको शेर्पा अन्तिम चारमा अट्ने योजनामा छ ।
गत बर्ष १३ खेलबाट पुलिस १९ अङ्क सहित छैटौं भएको थियो । शेर्पा १७ अङ्क बटुल्दै सातौं भएको थियो ।