काठमाडौं । विभागीय त्रिभुवन आर्मी क्लब ए डिभिजन लिगमा सधै उपाधिमा दाबेदारीता प्रस्तुत गर्छ । गत सिजन पनि उसको दाबी उपाधिमा थियो ।
च्याम्पियन हुने लक्ष्य सहित प्रतियोगिताको सुरुवात गरेको आर्मी अन्तिममा चौथो स्थानमा रहन पुग्यो ।
यसपटक समेत उसको दाबी पुरानै जस्तो छ । तर कागजमा सधै राम्रो टिम भएपनि आर्मीले नतिजा निकाल्न सकेको छैन ।
लिगको पुर्व सन्ध्यामा आयोजित पत्रकार सम्मेलनमा मुख्य प्रशिक्षक नविन न्यौपानेले गत सिजन च्याम्पियन बन्ने लक्ष्य भएपनि आफ्नै गल्तीका कारण मौका गुमाएको बताएका थिए ।
यसपटक सोही गल्ती नदोहर्याउने उनको बाचा थियो ।
‘गत सिजन लिगमा च्याम्पियन हुने लक्ष्य थियो । आफ्नै गल्तीले लक्ष्य पुरा भएन । यसपटक कमी कमजोरी सुधार गर्दै पुरा गर्छाै ।’ उनले भनेका छन् ।
लिगको दोस्रो खेलमा आर्मीले ललितपुरे क्लब फ्रेन्ड्सको सामना गर्दैछ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा हुने खेल दिनको साढे १२ बजे सुरु हुनेछ ।
लिगको पहिलो खेलमा दुबै टिम स्पष्ट तीन अंकको लागि मैदान उत्रनेछन् । शारिरिक रुपमा बलियो मानिने आर्मी फ्रेन्ड्सलाई हराउँदै लिगको उपाधि यात्रामा सुखद सुरुवात गर्न चाहन्छ ।
ललितपुरे फ्रेन्डस पनि लिगको पहिलो खेलमा आर्मीलाई स्तब्ध पार्दै लिगमा आफुलाई बलियो साबित गर्न चाहन्छ ।
कुपन्डोलको क्लबले तीन ब्राजिलीयन खेलाडी सहित प्रशिक्षकको सहायतामा आर्मीलाई पराजित गर्ने लक्ष्य राखेको छ । गत सिजन भएको खेलमा दुवै टिमले गोल रहित बराबरी खेलेका थिए ।
आर्मी भने फ्रेन्ड्स क्लबलाई कमजोर नआँक्ने बताउँछ । आर्मीका म्यानेजर तथा सहायक प्रशिक्षक चुन बहादुर थापा भन्छन्, ‘लिगको पहिलो खेलमा स्पष्ट तीन अंकका लागि खेल्छौं । त्यसका लागि हामी तयार छौं ।’ उनले खेलपाटीसँग भने ।
उनले फ्रेन्डसलाई सहज नलिने र लिगमा सुखद् सुरुवात गर्ने लक्ष्य राखेको बताए ।
आर्मीले फ्रेण्डसविरुद्ध राष्ट्रिय टिमका भरत खवास, नवयुग श्रेष्ठ, विकेश कुथु र सुमन अर्याल सहित १३ औं साग च्याम्पियन टिमका बिकाश खवास र सेसेहाङ आङ्गदेम्बेलाई मुख्य हतियार बनाउन सक्नेछ ।
गत सिजन १३ खेलमा २५ अंक सहित आर्मी चौथो स्थानमा रहँदा फ्रेन्डस १२ अंक सहित लिगको ११ औं स्थानमा रहेको थियो ।