काठमाडौं । नेपाल साफ यू–१८ फुटबल च्याम्पियनसिपमा दुई पटकको च्याम्पियन हो । तेस्रो संस्करणको प्रतियोगिता असोज पहिलो साताबाट नेपालमै आयोजना हुँदैछ ।
दुई पटकको च्याम्पियन नेपाल यस पटक घरेलु मैदानमा उपाधि जित्दै ह्याट्रिक गर्ने दाउमा हुनेछ । ह्याट्रिक लक्ष्यसँगै नेपाललाई उपाधि जोगाउन निकै चुनौती रहेको छ ।
साफ यू-१८ का लागि अखिल नेपाल फुटबल संघ (एन्फा) ले ललित स्मृति कपबाट खेलाडी छनोट गरेको थियो । एन्फाले पहिलो चरणमा ४७ खेलाडी प्रशिक्षणमा बोलाएको थियो । जसमा कोरियामा बस्दै आएका मनिष डांगी पनि परेका थिए ।
प्रतियोगिताका लागि मैदान अभावका कारण जावलाखेल युथ क्लबको मैदानबाट तयारी सुरु गरेको नेपालले एन्फा मैदान हुँदै केहि दिन पोखरामा तयारी गरेको छ । शसस्त्र प्रहरी बल एपीएफको मैदान हल्चोकमा प्रतियोगिता हुने भएकोले नेपाली टिम घाँसे मैदानमा तयारी गर्न भन्दै पोखरा पुगेको हो ।
समूहमा 'ए' मा रहेको नेपालको समूहमा भुटान र माल्दिभ्स रहेका छन् । यस्तै समूह 'बी' मा भारतसँग बंगलादेश र श्रीलंका रहेका छन् ।
प्रतियोगिता आउँन एक साता बाँकी रहदा पनि नेपालले टिमको घोषणा गर्न सकेको छैन । तर, मुख्य प्रशिक्षक चेत नारायण श्रेष्ठले मंगलबार साफ खेल्ने अन्तिम टोलीको घोषणा गर्ने तयारी गरेका छन् ।
साफ यू-१८ खेल्ने टिमको घोषणाको मिति नजिकिदै गर्दा नेपाली टोलीको नेतृत्व गर्ने कप्तान को होला भन्ने कौतुहलता सुरु भएको छ । किनकि यस पटकको कप्तानलाई अघिल्लो संस्करणहरुमा नेपालले गरेको प्रदर्शनलाई कायम राख्नु हुनेछ ।
मुख्य प्रशिक्षक श्रेष्ठ टिमको कप्तानी अन्तिम समयमा मात्रै बनाउन चाहन्छन् । जसका लागि उनले केहि खेलाडीमा सम्भावना देखेको छन् । यस पटक उनले कप्तानीको लागि जया गुरुङ र नितिन थापालाई अग्रपंक्तिमा राख्न रुचाउँछन् ।जया र नितिनपछि मनिष थापा पनि दाबेदार हुन् ।
नेपालका सम्भावित दुई कप्तानको बारेमा तल चर्चा गरिएको छ ।
जया गुरुङ
व्रिगेड ब्वाइज क्लबका कप्तान हुन जया । सेन्टर मिडफिल्डर जया व्रिगेड ब्वाईजले लगातार दुई पटक ललित स्मृति यू-१८ को उपाधि जित्दाका मुख्य खेलाडी पनि हुन् । उमेरका आधारमा सिनियर जया अहिले यू–१८ कप्तानीको लागि शीर्ष स्थानमा रहेका छन् ।
ललित स्मृतिको सुरुवाती ३ खेल गुमाएका उनि त्यसपछिका खेलमा भने सुरुवाती-११ मै रहेर खेलेका थिए । गत सिजन ब्रिगेड ब्वाइजबाट 'ए' डिभिजन लिग खेलेका जया अन्तिम समय घाईते हुन पुगेका थिए । तर, उनले ललित स्मृति कपबाट पुनरागमन गरेका थिए ।
खेलाडीसँग राम्रो व्यवहार, सबैलाई लिडरसिप गर्न माहिर उनि सेन्टरबाट राम्रो बल सप्लाई गर्न सक्ने क्षमता भएकै कारण मुख्य प्रशिक्षक श्रेष्ठ जयालाई कप्तानी चन्ने तयारीमा छन् ।
नितिन थापा
राष्ट्रिय टिमको बन्द प्रशिक्षणमा समेत सहभागीता जनाईसकेका नितिन नेपालमै आयोजना हुने साफ यू–१८ फुटबल प्रतियोगितामा नेपाली टिमको कप्तानीको दाबेदारीमा रहेका अर्का खेलाडी हुन् ।
ललित स्मृति यू–१८ फुटबल भने नितिनले खेलेनन् । तर, उनि यू-१८ टिममा रहेका छन् । नितिन १३ औ दक्षिण एसियाली खेलकुद सागको बन्द प्रशिक्षणमा रहेका छन् । नितिनले पछिल्लो समय एएफसी यू–२३ च्याम्पियनसिपको छनोट खेलेका थिए ।
मुख्य प्रशिक्षक श्रेष्ठले अन्तराष्ट्रिय खेलमा धेरै सहभागीता जनाईसकेकै कारण नितिनलाई पनि कप्तानीको दाबेदार देखेको छन् । आफ्नो साईडमा रामो गर्न सक्ने मिडफिल्डर नितिन मौका पाएको बलमा कमै मिस गर्छन् ।