एजेन्सी ।
‘महान् खेलाडी बन्न विश्वकप जित्नुपर्छ,’ अर्जेन्टिनी स्ट्राइकर लियोनल मेस्सीको भनाइ हो यो । अर्जेन्टिनाका यी स्टारको यो तर्क मान्न विश्व फुटबलका धेरै पण्डित तयार छैनन् । मेस्सीले पेले र डिएगो म्याराडोना जस्ता खेलाडीलाई मस्तिष्कमा राखेर यस्तो तर्क राखेका हुन् ।
पेले र म्याराडोना नै ती व्यक्तित्व हुन्, जसले फिफा विश्वकपलाई संसारभरका समर्थकबीचमा यो लोकप्रियता र उचाईं प्रदान गरे । त्यसैले विश्व फुटबलको इतिहासमा यिनै दुई खेलाडीलाई सर्वकालिन महान खेलाडीको रूपमा पुजिन्छ र यिनको समकक्षमा जस्तोसुकै प्रतिभालाई पनि ल्याउन दिइन्न ।
तर, विश्व फुटबलको सर्वोच्च निकाय फिफा स्वयम्ले केही यस्ता खेलाडीलाई महान् खेलाडीको दर्जा दिएको छ, जसले विश्वकप जित्नु त परै जाओस्, खेल्ने अवसरसमेत पाएका छैनन ।
चोट, कमजोर भाग्य र विछोड
पेलेबाट उत्कृष्ट खेलाडीको संज्ञा पाएका अल्फ्रेडो डि स्टेफानो विश्व फुटबलका एक सदाबहार नायक हुन् । दुई पटकका युरोपियन वर्ष खेलाडी तथा पाँच पटक युरोपियन कप विजेता डि स्टेफानोले तीन फरक राष्ट्रिय टिमको प्रतिनिधित्व गरे । अर्जेन्टिना, कोलम्बिया र स्पेनको राष्ट्रिय टिमबाट खेले पनि तीमध्ये कुनैले उनलाई फिफा विश्वकप खेल्ने अवसर प्रदान गरेन ।
उनी जन्मेको देश अर्जेन्टिनाले १९५० मा विश्वकप सहभागिता नजनाउने निर्णय गर्यो भने टोली १९५४ मा छनोट हुनै सकेन । १९५८ मा स्पेनिस नागरिकता लिएको दुई वर्ष भए पनि उनले खेल्ने अनुमति पाएनन् । त्यसको चार वर्षपछि बढ्दो उमेरका रियल मड्रिड स्टारले स्पेनलाई विश्वकपका लागि छनोट गराउन महत्वपूर्ण योगदान गरे पनि चोटका कारण विश्वकप खेल्न भने उनले सकेनन् ।
डन्कान इडवार्डसको भाग्य पनि कसैसँग तुलना गर्न नमिल्ने खालको निर्दयी रह्यो । आफ्नो जमानाका अर्का प्रभावशाली प्रतिभा इडवार्डस म्यानचेस्टर युनाइटेडका सर्वकालिन महान् खेलाडी मानिन्छन् । म्यानचेस्टरका समर्थकमाझ उनी बुस्बी बेबस र सर बबी चाल्टर्न बराबर लोकप्रिय छन् । क्षमता र प्रतिभाका कारण १९६६ को विश्वकपमा उनी इङ्ल्यान्डको कप्तान हुन हकदार थिए । तर दुर्भाग्य इडवार्डस १९५८ को म्युनिख विमान दुर्घटनामा गम्भीर घाइते भए र दुई हप्तापछि २१ वर्षको कलिलो उमेरमा उनको मृत्यु भयो । इटालियन फुटबलमा पनि १९४९ मा एउटा त्यस्तै दुर्घटना भयो । तत्कालिन समयका निकै प्रभावशाली खेलाडी भालेन्टिनो माजोलालार्य सुपेर्गा विमान दुर्घटनाले निल्दा टोरिनोका स्टार पनि विश्वकपबाट वञ्चित भए ।
लाडिस्लाओ कुबालाको नाममा अझ प्रेरणादायी कथा छ । डी स्टेफानोजस्तै बार्सिलोनाका यी महान खेलाडीले पनि तीन फरक राष्ट्रिय टिमबाट खेले । चिली विश्वकप १९६२ का लागि स्पेनलाई छनोट गराउँदा उनी पनि डि स्टेफानोजस्तै टोलीका महत्वपूर्ण सदस्य थिए । समानता यहाँ पनि मिल्यो । कुबालालाई पनि चोटले १९६२ को विश्वकप खेल्न दिएन । तर हंगेरियन–पोलिस पिता तथा हंगेरियन–स्लोभाक माताका पुत्र उनले स्पेनलाई १२ वर्षको अनुपस्थिति पुर्दै १९७८ को विश्वकपमा प्रशिक्षकका रूपमा दोहोराए ।
ठूला स्टार, सानो देश
धेरै महान् खेलाडीलाई चोट, कमजोर भाग्य र संयोगका कारण विश्वकपबाट वञ्चित गराउँदा केही उच्च प्रतिभा भने सानो देशमा जन्मनुको कारण विश्वकप खेल्न पाएनन् । उदाहरणका लागि वेल्सलाई नै लिन सकिन्छ, जसले थुप्रै विश्वस्तरीय खेलाडी उत्पादन गरे पनि उनीहरूले कहिल्यै विश्वकप खेल्ने सौभाग्य भने धेरैले प्राप्त गरेनन् । किनकि ३० लाख जनसंख्या भएको देशले एकै समयमा पर्याप्त त्यस्ता राम्रा खेलाडी तयार गर्न सकेको छैन । जसका कारण टोली १९५८ मा एकै पटक छनोट हुनुको गौरवलाई दोहोर्याउन सफल भएको छैन । त्यसैले जोन टोसहाक, नेभिल साउथहल, मार्क हग्स, इयान रुस र रायन गिग्सजस्ता आफ्नो समयका विश्वकै सर्वोत्कृष्ट मध्येका खेलाडी विश्वकपबाट वञ्चित रहे । आफूमा पर्याप्त क्षमता हुनाका बावजुद यो प्लेटफर्म उपयोग गर्नु उनीहरूको अधिकारभित्र परेन ।
उत्तरी आयरल्यान्डका महान् खेलाडी जर्ज बेस्टको भाग्य पनि त्यस्तै रह्यो । फिफा विश्वकपका १९६६, १९७० र १९७४ को संस्करणमा बेस्टले खेल्न पाएको भए उनको असाधारण प्रतिभाले विश्वकप थप सम्बृद्ध पार्ने पक्का थियो, तर म्यानचेस्टर युनाइटेडका स्टारको देश यी तीनै संस्करणमा छनोट भएन । १९८२ मा उनको देश विश्वकपका लागि छनोट भए पनि दुर्भाग्य बेस्टको खेलजीवन समाप्त भइसकेको थियो । आयरल्यान्ड गणतन्त्रका लियाम ब्राडी र जोनी जाइल्स पनि उच्च फर्ममा रहँदा उनीहरूको देश छनोट नभएपछि दुःखद भाग्यको सिकार भए ।
गलत समयका सही खेलाडीको अर्को उत्कृष्ट उदाहरण एबेदी पेले हुन् । तीन पटकका अफ्रिकी वर्ष खेलाडी पेलेले कहिल्यै फिफा विश्वकप खेल्न पाएनन् । उनी खेल्दासम्म उनको राष्ट्र घाना विश्वकपमा छनोट नहुँदा अफ्रिकी महादेशका सर्वकालिन महान खेलाडी विश्व फुटबलको कुम्भमेला गुमाउन बाध्य भए ।
निराशा र डरलाग्दो प्रतिस्पर्धा
मुख्य शक्तिका लागि खेल्दा फिफा विश्वकपमा राम्रो पहिचान बन्ने अपेक्षा स्वभाविक छ, तर यसले आफैमा समस्या ल्याउन पनि सक्छ । स्टारबीचको खराव प्रतिस्पर्धा र प्रशिक्षकको खटनपटनले कहिलेकाँही महान् भन्न लायक खेलाडी पनि विश्वकपबाट वञ्चित भएका घटना छन् ।
अयाक्सका लागि २ सय १७ गोल गरेका जेसाइया स्वार्टलाई आठ पटक डच लिग तथा तीनपटक युरोपियन कप जित्न गरेको उच्च योगदानले विश्व फुटबलमा जस्तोसुकै अवसरलाई लायक बनाएको थियो । तर १९७४ र १९७८ को विश्वकपममा उनी उच्च फर्ममा रहँदा स्टारले भरिपूर्ण नेदरल्यान्डसको फुटबल टिममा समेत उनले स्थान बनाउन सकेनन् । उनको अनुपस्थितिमा पनि डच टोली उत्कृष्ट प्रदर्शन गर्न सफल थियो ।
व्यक्तिगत स्वभावले पनि केही खेलाडीलाई ठूलो अवसरबाट वञ्चित गर्ने गरेको छ ।
उदाहरणका लागि फ्रान्सका इरिक कान्टोना सबैभन्दा उपयुक्त खेलाडी हुन सक्छन् । प्रशिक्षक र व्यवस्थापनसँगको श्रंखलावद्ध खट्पटका कारण उनको करियर लामो समय टिक्न सकेन । उच्च क्षमतावान् फरवार्डले ३१ वर्षको उमेरमै संन्यास लिनुप¥यो । उनले संन्यास लिएको अर्को वर्ष नै फ्रान्सले विश्वकप जित्यो ।
इङ्ल्यान्डमा निकै ख्याति कमाउनाका बावजुद फ्रान्सेली टोलीमा महत्व नपाएका अर्का खेलाडी डेविड जिनोला हुन् । उनले पनि व्यवस्थापनसँगको खराब सम्बन्धका कारण उच्च फर्ममा हुनाका बावजुद १९९४ र १९९८ को विश्वकप टोलीमा स्थान पाएनन् ।
रुसका आन्द्रेइ कान्चेल्स्किसले प्रशिक्षक पावेल साड्रिनको नेतृत्वमा खेल्न अस्वीकार गर्दा १९९४ को विश्वकप त्यागे भने राजनीतिक कारणले ब्राजिली महान् खेलाडी आर्थर फ्राइडेनरिचले १९३० मा सम्पन्न विश्वकपको पहिलो संस्करण खेल्न पाएनन् । यसैगरी ब्रेन्ड सुस्टरको अन्तर्राष्ट्रिय करियर २४ वर्षको उमेरमै टुंगियो । राष्ट्रिय फुटबल संघसँगको खराब सम्बन्धका कारण उनको करियर यति चाँडो सकिएको थियो ।