काठमाडौं । पोखरामा जारी छैटौं महिला तथा सातौं पुरुष राष्ट्रिय विच भलिबल अन्तर्गत पुरुषतर्फको फाइनलमा त्रिभुवन आर्मी क्लबको 'ए' र गण्डकी प्रदेशको 'बी' टिमले प्रतिस्पर्धा गर्ने भएका छन् ।
फेवातालको किनारमा शनिबार भएको पुरुषको सेमिफाइनलमा आर्मी 'ए' ले गण्डकी 'ए' लाई २-१ को सेटमा पराजित गर्यो ।
मानबहादुर श्रेष्ठ र दिल सुनुवार रहेको आर्मीको 'ए' ले सन्जु विक्रम शाह र रमेश केसी रहेको गण्डकी 'ए' लाई १५-२१,२१-१२ र १५-११ को सेटमा पराजित गर्यो ।
यस्तै अर्को सेमिफाइनलमा राजु विक र अनिल मगर रहेको गण्डकी 'बी' ले चन्द्र कुंवर र तोरण चन्द रहेको नेपाल पुलिस 'ए' लाई २१-२३,२१-१८,१५-९ ले हराउँदै आर्मीसँगको भेट पक्का गर्यो ।
महिलातर्फको फाइनलमा एपीएफ क्लबको 'ए' टिम र पुलिसको 'ए' टिमले प्रतिस्पर्धा गर्नेछ ।
नेपाल भलिबल संघको आयोजना र कास्की जिल्ला भलिबल संघको व्यवस्थापनमा जारी प्रतियोगिताको महिला र पुरुष विजेताले समान ३० हजार, दोस्रो हुने टोलीले २० हजार र तेस्रो हुने टोलीले १० हजार रुपैयाँ प्राप्त गर्नेछन् ।
यस्तै संघले यसै प्रतियोगिताबाट खेलाडी छनोट गरेर राष्ट्रिय टोलीको चयन गर्ने जनाएको छ । प्रतियोगिताको पहिलो, दोस्रो र तेस्रो हुने टोलीका खेलाडी समेटेर क्लोज क्याम्प गर्दै राष्ट्रिय टिम बनाइने संघले जनाएको छ ।
यसै डिसेम्बरमा नेपालमा हुन लागेको १३ औं दक्षिण एसियाली विच भलिबलको तयारीका लागि संघले प्रतियोगिता गर्न लागेको समेत जनाएको छ ।