काठमाडौं । विभागीय टिम एपीएफ क्लबको 'ए' टिम पोखरामा जारी छैटौं महिला राष्ट्रिय विच भलिबलको फाइनलमा प्रवेश गरेको छ ।
फेवातालको किनारमा आइतबार भएको खेलमा नेपाल पुलिस क्लबको 'बी' टिमलाई २-० को सेटमा पराजित गर्दै एपीएफ फाइनलमा पुगेको हो ।
बिनिता बुढाथोकी र नेबिका चौधरी रहेको एपीएफले मनिषा चौधरी र पुष्पा चौधरीको जोडी रहेको पुलिसलाई २१-९ र २१-१४ को सेटमा पाखा लगायो ।
अब एपीएफले फाइनलमा पुलिसको 'ए' टिमसंग खेल्नेछ । कोपिला उप्रेती र निता शाह रहेको पुलिस 'ए' टिम यसअघि नै फाइनल पुगिसकेको छ ।
महिलातर्फको तेस्रो स्थानका लागि मनिषा खाँड र पुष्पा पल्परियाको जोडी रहेको त्रिभुवन आर्मी क्लब 'ए' टिमले मनिषा चौधरी र पुष्पा चौधरी रहेको पुलिस 'बी' संग खेल्नेछ ।
सातौं पुरुष राष्ट्रिय विच भलिबलतर्फ आर्मीको 'ए' टिम,गण्डकी प्रदेशको 'ए' टिम, पुलिसको 'ए' टिम र गण्डकीको 'बी' ले सेमिफाइनलमा स्थान बनाएका छन् ।
मानबहादुर श्रेष्ठ र दिल सुनुवार रहेको आर्मीको 'ए' ले क्वाटरफाइनलमा महेन्द्र श्रेष्ठ र विजय थापा मगर रहेको एपीएफको 'ए' टिमलाई २१-१४,२१-१८ ले पराजित गर्यो ।
सेमिफाइनलमा आर्मीले गण्डकी 'ए' संग खेल्नेछ । सन्जु विक्रम शाह र रमेश केसी रहेको गण्डकी प्रदेश 'ए' को टिमले आर्मीको 'बी' टिमलाई २२-२०,१८-२१ र १५-१३ को सेटमा हराएर आर्मीसँगको भेट पक्का गरिसकेको छ ।
त्यस्तै पुलिसको 'ए' टिमले प्रदेश ३ को 'बी' टिमलाई २१-१५ र २१-९ को सेटमा हराएर सेमिफाइनल पुगेको छ । गण्डकीको 'बी' टिमले पुलिसको 'बी' टिमलाई २१-१२ र २१ -१२ को सेटमा हराएर सेमिफाइनल पुगेको छ ।
नेपाल भलिबल संघको आयोजना र कास्की जिल्ला भलिबल संघको व्यवस्थापनमा जारी प्रतियोगिताको महिला र पुरुष विजेताले समान ३० हजार, दोस्रो हुने टोलीले २० हजार र तेस्रो हुने टोलीले १० हजार रुपैयाँ प्राप्त गर्नेछन् ।
यस्तै संघले यसै प्रतियोगिताबाट खेलाडी छनोट गरेर राष्ट्रिय टोलीको चयन गर्ने जनाएको छ । प्रतियोगिताको पहिलो, दोस्रो र तेस्रो हुने टोलीका खेलाडी समेटेर क्लोज क्याम्प गर्दै राष्ट्रिय टिम बनाइने संघले जनाएको छ ।
यसै डिसेम्बरमा नेपालमा हुन लागेको १३ औं दक्षिण एसियाली विच भलिबलको तयारीका लागि संघले प्रतियोगिता गर्न लागेको समेत जनाएको छ ।