एजेन्सी । घरेलु टोली इंग्ल्याण्डले १२ औं संस्करणको आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा दोस्रो जित निकालेको छ ।
शनिबार भएको खेलमा बंगलादेशलाई १०६ रनको फराकिलो अन्तरले पराजित गर्दै इंग्ल्याण्डले दोस्रो जित निकालेको हो ।
कार्डिफमा इंग्ल्याण्डले दिएको ३८७ रनको विशाल लक्ष्य पछ्याएको बंगलादेश ४८ ओभर ५ बलमा अलआउट हुँदै २८० रनमा समेटियो ।
बंगलादेशका लागि शकिब अल हसनले १२१ रनको शतकीय इनिङ्स खेलेपनि टोलीलाई जित दिलाउन सकेनन् । यस्तै मुस्फिकर रहिमले ४४ रन जोड्दा महमद ममुदउल्लाहले २८ तथा मोसाडेक होसेनले २६ रन बनाए ।
बंगलादेशलाई सस्तैमा समेट्न जोफ्रा आर्चर र बेन स्टोक्सले ३/३ विकेट लिए । मार्क उडको नाममा २ विकेट रह्यो ।
यसअघि जेसन रोयको बिस्फोटक ब्याटिङमा इंग्ल्याण्डले ५० ओभरमा ६ विकेट गुमाएर ३८६ रन बनाएको थियो । टस हारेर पहिले ब्याटिङ गरेको इंग्ल्याण्डका लागि ओपनर रोयले १५३ रनको शतकीय इनिङ्स खेले ।
रोयले पहिलो विकेटका लागि ओपनर जोनी ब्रेस्ट्रोसंग १ सय २८ रनको साझेदारी गरेका थिए । जोनीले ५१ रनको अर्धशतकीय इनिङ्स खेले ।
यस्तै जोस बट्लरले ६४ रनको अर्धशतकीय इनिङ्स खेल्दा जोय रुटले २१ रन बनाए । त्यस्तै इयान मोर्गन ३५ तथा बेन स्टोक्स ६ रनमा आउट भए ।
बंगलादेशका मोहमद सइफुदिन र हसन मिराजले सार्वधिक समान २/२ विकेट लिए ।
जितसंगै इंग्ल्याण्डले ३ खेलमा ४ अंक जोडेको छ । र, तालिकाको दोस्रो स्थानमा रहेको छ । बंगलादेशको यो दोस्रो हार हो । बंगलादेशले ३ खेलमा २ अंक जोडेको छ ।