एजेन्सी । इंग्ल्याण्डमा जारी १२ औं संस्करणको आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा अहिले दुई उपाधि दाबेदार टिम अष्ट्रेलिया र वेष्ट इण्डिजबीच प्रतिस्पर्धा हुँदैछ ।
नटिङघममा वेष्ट इण्डिजले टस जितेको छ र पहिले फिल्डिङ रोजेको छ । वेष्ट इण्डिजले बलिङ रोजेपछि अष्ट्रेलियाले सुरुवातमा ब्याटिङ गर्ने भएको छ ।
ट्रेण्ड ब्रिज स्टेडियममा आज दुवै टोली लगातार दोस्रो जितको खोजीमा रहने छन् । पहिलो खेल जित्दै सुखद सुरुवात गरेका अष्ट्रेलिया र वेष्ट इण्डिज दोस्रो खेलमा पनि अंक जोड्न चाहन्छ ।
पहिलो खेलमा अष्ट्रेलियाले अफगानिस्तानलाई ७ विकेटले हराएको थियो । अष्ट्रेलिया अफगानिस्तानविरुद्धको जितलाई कायम राख्न चाहन्छ ।
तर, अष्ट्रेलियालाई बलियो वेष्ट इण्डिजको उच्च प्रदर्शनको डर रहेको छ । किनकी पहिलो खेलमा वेष्ट इण्डिजले पाकिस्तानमाथि ७ विकेटको शानदार जित निकालेको थियो ।
वेष्ट इण्डिज पनि अष्ट्रेलियालाई हराएर आफ्नो उपाधि दाबेदार प्रस्तुत गर्न चाहन्छ ।
दुई टोलीबीचको अघिल्लो नतिजा अष्ट्रेलियाको पक्षमा रहेको छ । पछिल्लो ५ भेटमा अष्ट्रेलिया ४ जित निकाल्दा वेष्ट इण्डिजले एक जित निकालेको छ ।