एजेन्सी । बंगलादेशले इंग्ल्याण्डमा जारी १२ औं संस्करणको आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा विजयी सुरुवात गरेको छ ।
आइतबार भएको खेलमा बलियो टिम दक्षिण अफ्रीकालाई २१ रनले पराजित गर्दै बंगलादेशले सुखद सुरुवात गरेको हो ।
लण्डनको केनिङटन ओभलमा बंगलादेशले दिएको ३३१ रनको फराकिलो लक्ष्यसहित जवाफी ब्याटिङ गरेको दक्षिण अफ्रीकाले ५० ओभरमा ८ विकेट गुमाएर ३०९ रन मात्र बनाउन सक्यो ।
दक्षिण अफ्रीकाका लागि कप्तान फाप डु प्लेसिसले ६२ रनको अर्धशतकीय इनिङ्स खेलेपनि टोलीको हार टार्न सकेनन् ।
यस्तै जेपी डुमिनी र एडिन मक्रामले समान ४५/४५ रन जोड्दा भान डेर डुसेनले ४१ रन बनाए । डेभिड मिल्नरले ३८ रन बनाउदा क्विनटन डी ककले २३ रन बनाए ।
बंगलादेशका मुस्ताफिजुर रहमानले ३ तथा मोहमद साईफुदीनले २ विकेट लिए ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको बंगलादेशले ५० ओभर खेल्दै ६ विकेट गुमाएर ३३० रन बनाएको थियो ।
बंगलादेशका लागि मुस्फिकर रहमान र शाकिब अल हसनले अर्धशतकीय इनिङ्स खेले । रहमानले ७८ रन जोड्दा हसनले ७५ रन जोडे ।
यस्तै महमदउल्लाहले अविजित ४६ र सौम्य सरकारले ४२ रन जोडे । मोसाडेक होसेनले २६ रन जोड्दा मोहमद मिथुनले २१ रन बनाए ।
दक्षिण अफ्रीकाका लागि इमरान ताहिर, एडिले लक्की र क्रिस मोरिसले २/२ विकेट लिए ।
जितसंगै बंगलादेशले पहिलो खेलमै २ अंक जोडेर शानदार सुरुवात गरेको छ । दक्षिण अफ्रीकाले लगातार दोस्रो हार व्यहोरेको छ ।
विश्वकपमा यसअघि आयोजक इंग्ल्याण्ड, अष्ट्रेलिया, न्युजिल्याण्ड र वेष्ट इण्डिजले विजयी सुरुवात गरिसकेका छन् ।