एजेन्सी । न्युजिल्याण्डले इंग्ल्याण्डमा जारी १२ औं संस्करणको आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा विजयी सुरुवात गरेको छ ।
शनिबार भएको खेलमा श्रीलंकालाई १० विकेटले पराजित गर्दै न्युजिल्याण्डले सुखद सुरुवात गरेको हो ।
इंग्ल्याण्डको कार्डिफमा श्रीलंकाले दिएको १३७ रनको सामान्य लक्ष्य न्युजिल्याण्डले १६ ओभर १ बलमा बिना विकेटको क्षतिमा पुरा गर्यो ।
न्युजिल्याण्डको जितमा ओपनरद्वय मार्टिन गुप्टिल र कोलिन मुन्रोले अर्धशतकीय इनिङ्स खेले । गुप्टिलले अविजित ७३ रन जोड्दा मुन्रोले अविजित ५८ रन बनाए । दुवैले १३७ रनको साझेदारी गरेका थिए ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको श्रीलंकाले ३९ ओभर २ बलमा अलआउट हुँदै १३६ रन बनाएको थियो ।
श्रीलंकाका लागि दिमुथ करुणारत्नेले अविजित रहदै ५२ रनको अर्धशतकीय इनिङ्स खेले । यस्तै कुशल परेराले २९ तथा थिसरा परेराले २७ रन जोडे ।
न्युजिल्याण्डका म्याट हेनरी र लक्की फर्गुसनले ३/३ विकेट लिए ।
जितसंगै न्युजिल्याण्डले पहिलो खेलमा २ अंक जोडेको छ । श्रीलंकाले भने हारबाट प्रतियोगिताको सुरुवात गरेको छ ।
प्रतियोगितामा यसअघि इंग्ल्याण्ड र वेष्ट इण्डिजले पनि विजयी सुरुवात गरिसकेका छन् ।