एजेन्सी । विश्वकप क्रिकेटको नयाँ संस्करण भोली (विहिबार) सुरु हुदैछ । १० टिम सहभागी रहने प्रतियोगितामा हरेक टिममा युवादेखि पाका खेलाडी समावेश छन् । नयाँको जोश र पाका खेलाडीको अनुभवले हरेक टिम उपाधि सम्भावनालाई बलियो बनाउन चाहन्छन् ।
भोली सुरु हुने विश्वकपमा अफगानिस्तानका मोहमद नाबीदेखि भारतका महेन्द्र सिंह धोनी पाका खेलाडीको रुपमा टिममा समावेश छन् । सहभागी १० टिमका सबै भन्दा पाका खेलाडीलाई निम्न अनुसार प्रस्तुत गरेका छौ ।
१. लियाम प्लङकेट, इंगल्याण्ड
३४ बर्षे लियाम प्लङ्केट इंङ्ल्याण्ड सबै भन्दा पाका खेलाडी हुन् । तिव्र गतिमा बलिङ गर्ने उनीे खेल क्षेत्रबाट टाढिन केही समय मात्र बाँकी छ । सम्भवत यो विश्वकपनै उनको ईङ्ल्याण्डको जर्सीमा अन्तिम हुनेछ ।
८० एक दिवसीय खेलमा बलिङ गरेका उनले ५ दशमलब ९० को इकोनमीमा १ सय २४ विकेट हात पारेका छन् । मिडल ओभरमा विकेट लिने क्षमता भएका उनले विश्वकपमा आफ्नो टिमका लागि निकै महत्वपुर्ण भुमिका खेल्न सक्छन् ।
२. मोहमद नाबी, अफगानिस्तान
अफगानिस्तानका अनुभबी अलराउण्डर खेलाडी नाबीले अफगानिस्तानबाट एक दिवसीय प्रतियोगितामा मात्र २ खेल गुमाएका छन् । हालसम्म अफ्गानिस्तानले १ सय १४ खेल खेलेको छ । जसमा नाबीले १ सय १२ खेल खेलेका छन् ।
३४ बर्षे उनले अफगानिस्तान क्रिकेटमा गरेको योगदान अविस्मरणीय छ । अफगानिस्तानलाई एक दिवसीय हुँदै टेस्ट मान्यता सम्म ल्याई पु¥याउन उनको ठुलो योगदान छ । विश्वका टी–ट्वान्टी फ्रेन्चाइजमा उनी निकै लोकप्रिय छन् ।
एकदिवसीय अलराउण्डर बरियतामा उनी तेस्रो स्थानमा छन् । विश्वकपमा अफगानिस्तानका लागि उनको प्रदर्शन खास रहने छ ।
३.मसराफी मोर्ताजा, बंगलादेश
३५ बर्षे कप्तान मोर्ताजा बंगलादेशका निकै अनिभाबी खेलाडी हुन् । केहि समय अघि मात्र राजनीतिमा प्रवेश गरेका उनको यो अन्तिम विश्वकप हुन सक्ने बताईएको छ । तिव्र गतिका बलर समेत रहेका उनले बंगलादेशका लागि २ सय ९ खेलमा २ सय ६५ विकेट हात पारेका छन् ।
४. रोस टेलर, न्युजिल्याण्ड
३५ वर्षे न्युजिल्याण्डका खेलाडी टेलरले ३ संस्करणको विश्वकपमा सहभागिता जनाईसकेका छन् । उनलाई न्युजिल्याण्डका एक सफल खेलाडीको रुपमा हेरिने गरिन्छ ।
विश्वकप नजिकिदै गर्दा उनी उत्कृष्ट लयमा देखिएका छन् । एक दिवसीय खेलमा ५६ इनिङ्स ब्याटिङ गरेका उनले १७ अर्धशतक प्रहार गर्दा २ हजार ८ सय ९२ रन बनाएका छन् । सम्भवत उनको यो विश्वकप अन्तिम हुने बताईएको छ ।
५. सन मार्स, अस्ट्रेलिया
अस्ट्रेलियाका पाका खेलाडी सन मार्सका लागि विश्वकप प्रतियोगिता पहिलो सहभागिता हो भन्दा आश्चार्य लाग्न सक्छ ।
३५ बर्षे ब्याट्सम्यान उनले ७१ एक दिवसीय खेलमा २ हजार ७ सय ४७ रन बनाएका छन् । औसत प्रदर्शन गर्ने मार्सका लागि विश्वकप एक सुनौलो मौका हो ।
६. जीवन मेण्डिस, श्रीलंका
पछिल्ला तीन बर्षदेखि कुनै पनि एक दिवसीय खेल नखेलेका जीवन मेण्डिस विश्वकप टोलीमा पर्दा धेरैले आश्चार्य प्रकट गरे । घरेलु प्रतियोगितामा गरेको प्रर्दशनका आधारमा उनलाई अवसर प्रदान गरिएको मानिएको छ ।
३६ बर्षे मेण्डिसले हालसम्म ५५ एक दिवसीय र २२ टी–ट्वान्टी खेल खेलेका छन् । सन् २०१५ को विश्वकप टोलीमा समेत रहेका उनले चोटका कारण पुरै प्रतियोगिता गुमाएका थिए ।
७. महेन्द्र सिंह धोनी, भारत
धोनी ३७ बर्षका भए । धोनीको यो विश्वकप चौथो सहभागिता हुनेछ । सन् २०११ को विश्वकप आफ्नै भुमीमा जितेका उनी भारतका तत्कालिन कप्तान थिए ।
उनलाई विश्व क्रिकेटमा उत्कृष्ट कप्तानको रुपमा हेरिने गरिन्छ । उनको अनुभबको कारण भारत यो पटक उपाधिको दाबेदार टोलीको रुपमा रहेको छ ।
८. मोहमद हाफिज, पाकिस्तान
पाकिस्तानका अल राउण्डर मोहमद हाफिज क्रिकेट करियरको अन्त्यतिर छन् । ३८ बर्षे हफिजले गत बर्ष टेस्ट क्रिकेटबाट सन्यास घोसणा गरेका थिए । यो विश्वकपमा समर्थक उनलाई अन्तिमपटक पाकिस्तानी जर्सीमा देख्ने बताईएको छ ।
९. क्रिस गेल, वेष्ट इण्डिज
युनिभर्सल बोसको उपनामले परिचित वेष्ट इण्डिजका गेलले विश्वकप पछि एकदिवसीय क्रिकेटबाट सन्यास लिने घोषणा गरिसकेका छन् ।
३९ वर्षे गेल एकदिवसीयमा १० हजार रन पुरा गर्ने विश्वका १४ औं र वेष्ट इण्डिजका दोस्रो खेलाडी हुन् । उनी वेष्ट इण्डिजका सर्वाधिक रन बनाउने खेलाडी पनि हुन् ।
वेष्ट इण्डिजबाट उनले सन् २००४ मा च्याम्पियन्स ट्रफी र सन् २०१६ को टी–ट्वान्टी विश्वकप जितिसकेका छन् ।
१०. इमरान ताहिर, दक्षिण अफ्रिका
विश्वकपका सबै भन्दा पाका खेलाडी हुन्, इमरान ताहिर । उनी हाल ४० बर्षका भए ।
भारतमा भएको आईपीएलमा निकै सफल रहेका उनी दक्षिण अफ्रिकाका लागि यो विश्वकपमा एक्स फ्याक्टर हुनसक्ने अनुमान गरिएको छ ।
ताहिरले यो विश्वकपपछि खेल जीवनबाट सन्यास लिने घोषणा गरिसकेका छन् ।