एजेन्सी । आईसीसी एकदिवसीय विश्वकप क्रिकेट अघिको अभ्यास खेलमा अष्ट्रेलियाले श्रीलंकालाई पराजित गरेको छ ।
साउथह्याम्पटनमा सोमबार भएको खेलमा अष्ट्रेलियाले श्रीलंकालाई ५ विकेटले पराजित गरेको हो ।
द रोस बल मैदानमा श्रीलंकाले दिएको २४० रनको लक्ष्य अष्ट्रेलियाले ४४ ओभर ५ बलमा मात्र ५ विकेट गुमाएर पुरा गर्यो ।
अष्ट्रेलियाका लागि उस्मान ख्वाजाले ८९ रनको अर्धशतकीय इनिङ्स खेले ।
यस्तै ग्लेन म्याक्स्वेलले ३६, शाउन मार्शले ३४ तथा मार्कुस स्टोनिसले ३२ रन बनाए । श्रीलंकाका जेफ्री भान्दरसेले २ विकेट लिए ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको श्रीलंकाले ५० ओभरमा ५ विकेट गुमाएर २३९ रन बनाएको थियो । श्रीलंकाका लागि लाहिरु थिरिमानेले ५६ रनको अर्धशतकीय इनिङ्स खेल्दा धनन्जय डी सिल्भाले ४२ रन बनाए ।
थिसरा परेराले २७ रन जोड्दा कुशल मेन्डिसले २४ रन जोडे । अष्ट्रेलियाका लागि एडम जाम्पाले २ विकेट लिए ।
इंग्ल्याण्ड र वेल्समा हुने विश्वकपको तयारीका लागि दुवै राष्ट्रले अभ्यास खेलेका हुन् । अभ्यास खेलमा अष्ट्रेलियाको यो लगातार दोस्रो जित हो ।अष्ट्रेलियाले यसअघि इंग्ल्याण्डलाई १२ रनले पराजित गरेको थियो ।
विश्वकप क्रिकेट मे ३० बाट सुरु हुनेछ ।