एजेन्सी । आईसीसी एकदिवसीय विश्वकप क्रिकेट अघिको अभ्यास खेलमा इंग्ल्याण्डले अफगानिस्तानलाई पराजित गरेको छ ।
सोमबार भएको खेलमा इंग्ल्याण्डले अफगानिस्तानलाई ९ विकेटले पराजित गरेको हो ।
लन्डनमा अफगानिस्तानले दिएको १६१ रनको सामान्य लक्ष्य इंग्ल्याण्डले १७ ओभर ३ बलमा मात्र १ विकेट गुमाएर पुरा गर्यो ।
इंग्ल्याण्डको जितमा जासन रोय अविजित ८९ रनको अर्धशतकीय इनिङ्स खेले । यस्तै जोनी बेयर्स्टोले ३९ तथा जोय रुटले अविजित २९ रन बनाए । अफगानिस्तानका मोहमद नाबीले १ विकेट लिए ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको अफगानिस्तानले ३८ ओभर ४ बलमा अलआउट हुँदै १६० रन बनाएको थियो । अफगानिस्तानका लागि मोहमद नाबीले ४४ तथा नुर अली जाद्रनले ३० रन बनाए । डलट जाड्रन २० रनमा अविजित रहे ।
इंग्ल्याण्डका जोय रुट र जोफ्रा आर्चरले ३/३ विकेट लिए ।
इंग्ल्याण्ड र वेल्समा हुने विश्वकपको तयारीका लागि दुवै राष्ट्रले अभ्यास खेलेका हुन् । विश्वकप क्रिकेट मे ३० बाट सुरु हुनेछ ।