काठमाडौं । एसिया कप व्हिल चियर टी-ट्वान्टी क्रिकेटमा नेपालले लगातार दोस्रो हार व्यहोरेको छ । बिहिबार भएको दोस्रो खेलमा नेपाल बंगलादेशसंग ८ विकेटले पराजित भएको छ ।
किर्तिपुरस्थित टियु मैदानमा नेपालले दिएको १४९ रनको लक्ष्य बंगलादेशले १८ ओभर ३ बलमा मात्र २ विकेट गुमाएर पुरा गर्यो । बंगलादेशको जितमा मोहमद रिपोन उडिनले ५० रनको अर्धशतकीय इनिङ्स खेले ।
यस्तै, जाबेद अहमेदले ३८ रन जोड्दा साजिद हुसेनले ३१ तथा मोहमद असिप हुसेनले अविजित १३ रन बनाए । नेपालका कप्तान दिगम सिंह चेम्जोङ र सुपर राईले १/१ विकेट लिए ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले १९ ओभर ३ बलमा अलआउट हुँदै १४८ रन बनाएको थियो । नेपालका लागि होमनाथ राईले ३६ रन बनाए ।
यस्तै कप्तान दिगम सिंह चेम्जोङले ३५ रन, डम्बर मगरले १९ र विष्णु पुकार श्रेष्ठले १६ रन जोडेका थिए । बंगलादेशका मोहिदुल अस्लामले ३ विकेट लिए ।
यो हारसंगै नेपालको फाइनल पुग्ने सम्भावना कमजोर बनेको छ । नेपाल बुधबार भएको पहिलो खेलमा भारतसँग ६ विकेटले पराजित भएको थियो ।
अब नेपालले शुक्रबार पाकिस्तानसंग खेल्नेछ । बंगलादेशको यो पहिलो जित हो ।