एजेन्सी । रुसमा जारी २१ औं संस्करणको फिफा विश्वकप फुटबलको समूह चरणको खेलहरु सकिसकेको छ । र, आजबाट अन्तिम १६ को खेलहरु सुरु हुँदैछ ।
रुस विश्वकपको समूह चरण निकै नाटकीय रह्यो । साबिकको बिजेता जर्मनी समूह चरणबाटै घर फर्कियो । भिडियो असिस्टेन्ट रेफ्री (भिएआर) नियम लागु भयो । जसको कारण धेरै पेनाल्टी निस्कियो । केहि खेलाडी चम्किए, चम्किएका खेलाडी जम्न सकेनन् ।
यस्तोमा बेलायती समचार संस्था बीबीसीले विश्वकप फुटबलको समूह चरणको ड्रिम टिम (उत्कृष्ट प्लेइङ-११) निकालेको छ । समूह चरणमा खेलाडीले गरेको प्रदर्शन र पाठकहरुको मतको आधारमा प्लेइङ-११ निकालेको बीबीसीले जनाएको छ ।
बीबीसीले सार्वजनिक गरेको ड्रिम टिममा इंग्ल्यान्डका ३ खेलाडी परेका छन् । यस्तै पोर्चुगल, दक्षिण कोरिया, बेल्जियम, उरुग्वे, क्रोएसिया, सर्बिया, स्पेन र ब्राजिलका एक एक खेलाडी परेका छन् ।
ड्रिम टिममा अर्जेन्टिनाका कप्तान लियोनल मेस्सी र ब्राजिलियन फरवार्ड नेयमार अटाएका छैनन् । यस्तै अन्य स्टार खेलाडीहरुले स्थान बनाउन सकेनन् । ड्रिम टिमको अग्रपंक्ति पोर्चुगलका क्रिस्टियानो रोनाल्डो र इंग्ल्यान्डका ह्यारी केनले सम्हाल्ने छन् ।
हेर्नुस ड्रिम टिम :
गोलकिपर – चो ह्युंग वु (दक्षिण कोरिया)
डिफेन्डर – केइरन ट्रीपर (इंग्ल्यान्ड), जोन स्टोन (इंग्ल्यान्ड) डिएगो गोडीन (उरुग्वे), एलेक्जेन्डर कोलारोभ (सर्बिया)
मिडफिल्डर – फिलिपे कौटिन्हो (ब्राजिल), लुका मोड्रिक (क्रोएसिया), इस्को (स्पेन), इडेन हाजार्ड (बेल्जियम)
फरवार्ड – क्रिष्टियानो रोनाल्डो (पोर्चुगल), ह्यारी केन (इंग्ल्यान्ड)