एजेन्सी । रुसमा जारी २१ औं संस्करणको फिफा विश्वकप फुटबलको नकआउट चरण अफ्रिकन राष्ट्रबिहिन हुने भएको छ । विश्वकप अन्तर्गत बिहिबार समूह एचबाट सेनेगल बाहिरिएसँगै रुस विश्वकपको अन्तिम १६ अफ्रिकन राष्ट्रबिहिन बनेको हो ।
समूह एचमा रहेको सेनेगल अन्तिम खेलमा कोलम्बियासंग १ – ० ले पराजित भएपछि समूह चरणबाटै बाहिरिएको हो । सेनेगलको हारसंगै रुस विश्वकपमा अफ्रीका महादेशको चुनौती समाप्त भएको हो ।
यो समूहमा जापानसँग अंक बराबर गरेपनि सेनेगल फेयर प्ले अंकमा पछि पर्दै नकआउट चरणमा पुग्न सकेन । जापान भने जारी विश्वकपको नकआउट चरण पुग्ने एक्लो एसियन राष्ट्र बनेको छ ।
विश्वकप फुटबलको इतिहासमा सन् १९८६ पछि पहिलोपटक अफ्रिकन राष्ट्रले नकआउट चरणमा स्थान बनाउन नसकेको हो । यो विश्वकपमा अफ्रीका महादेशबाट ५ राष्ट्र सहभागी भएपनि कुनै पनि राष्ट्रले समूह चरण पार गर्न सकेनन् ।
सन् २०१४ को विश्वकपमा अल्जेरिया र नाइजेरिया नकआउट चरणमा पुगेको थियो ।