एजेन्सी । कोलम्बिया रुसमा जारी फिफा विश्वकप फुटबलको अन्तिम १६ मा प्रवेश गरेको छ । बिहिबार भएको समूह चरणको अन्तिम खेलमा सेनेगललाई १ - ० ले हराउदै कोलम्बिया समूह 'एच' को बिजेता बन्दै नकआउट चरणमा पुगेको हो ।
समारा एरिनामा पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको दोस्रो हाफमा कोलाम्बियाले गोल गर्दै नकआउट चरणमा स्थान पक्का गरेको हो । खेलको ७४ औं मिनेटमा एरी मिनाले गोल गर्दै कोलम्बियालाई १ - ० को महत्वपूर्ण जित दिलाएका हुन् ।
यो जितसंगै समूह 'एच' बाट कोलम्बियाले ६ अंक जोड्न सफल भयो । ४ अंक जोडेको सेनेगल समूह चरणबाट बाहिरिएको छ ।
यो समूहबाट पोल्याण्डसंगको हारको बाबजुत जापानले नकआउट चरणमा स्थान बनायो । सेनेगलसंग समान ४ अंक जोडेपनि फेयर प्ले अंकको आधारमा जापान उपविजेता बन्दै दोस्रो चरणमा पुगेको हो । सेनेगलले जापानले भन्दा दुई बढी पहेलो कार्ड पाएको थियो । अन्तिम खेलमा जित निकाले पनि पोल्याण्ड समूह चरणबाटै बाहिरियो ।