एजेन्सी । विश्वकप फुटबल अन्तर्गत समूह चरणको आफ्नो अन्तिम खेलमा आज जापान र पोल्याण्डले प्रतिस्पर्धा गर्दै छ । साँझ हुने खेल जापानको लागि महत्वपूर्ण हुनेछ । किनकि जापान यो खेलमा जित वा बराबरी खेल्दै नकआउट चरणमा पुग्न चाहन्छ ।
यता, पोल्याण्ड जापानविरुद्धको खेल जित्दै आफ्नो हारको यात्रालाई टुंगाउन चाहन्छ । समूह चरणबाट बाहिरिसकेको पोल्याण्डलाई जापानविरुद्ध कुनै डर हुने छैन । यस्तोमा जापान र पोल्याण्डबीचको खेल रोमान्चक हुने अनुमान गरिएको छ ।
यो खेलमा मुख्य त् दुई खेलाडी चर्चामा रहने छन् । जापानका ताकासी इनुई र पोल्याण्डका रोबर्ट लेवान्डोस्की यो खेलको प्लेयर्स टु वाचमा रहने छन् ।
ताकासी इनुई (जापान)
रुसमा जारी विश्वकपमा जापानलाई अघिल्लो चरणमा पुग्न आज पोल्याण्डलाई हराउनै पर्ने हुन्छ । यसको लागि जापानले मुख्य हतियार बनाउने छन्, ताकासी इनुईलाई ।
रुसमा दुई खेलमा एक गोल गरिसकेका इनुईले आज जापानलाई अन्तिम १६ मा पुर्राउन महत्वपूर्ण भूमिका खेल्न सक्ने छन् । ३० बर्षे मिडफिल्डर इनुई स्पेनिस क्लब इबरबाट ब्यवसायीक फुटबल खेल्ने गर्छन । त्यसैले एसियाली पावर हाउस जापानका इनुई युरोपेली फुटबलमा राम्रोसँग भिजेका छन् ।
ला लिगामा ३४ खेल खेल्दै ५ गोल गरेका इनुई पोल्याण्डविरुद्ध चम्कने विश्वास गरिएको छ । यो खेलमा इनुई चम्किए पोल्याण्डलाई हराउन जापानलाई खासै कठिनाई पर्ने छैन ।
रोबर्ट लेवान्डोस्की (पोल्याण्ड)
जापानविरुद्ध मैदान उत्रदा रोबर्ट लेवान्डोस्कीको एक मात्र लक्ष्य हुनेछ, पोल्याण्डलाई सान्त्वना जित दिलाउने । किनकि रुस विश्वकपको अघिल्ला दुई खेल गुमाईसकेको पोल्याण्ड आज जित निकाल्दै हारको शृंखला तोड्न चाहन्छ ।
जर्मन लिग बुन्डेस लिगामा वायर्न म्युनिखबाट फुटबल खेल्ने लेवान्डोस्की गोल मेसिनको रुपमा पनि परिचित छन् । तर, क्लब फुटबलमा अत्यन्तै सफल लेवान्डोस्की जारी विश्वकपमा भने गोल गर्न सकिरहेका छैनन् ।
यो सिजनको लिगमा ३० खेल खेलेका लेवान्डोस्कीले २९ गोल गरेका थिए । च्याम्पियन्स लिगमा ११ खेलका उनले ५ गोल गरेका छन् । लेवान्डोस्कीले विश्वकप छनोटको १० खेलमा १६ गोल गरेका थिए । र, लेवान्डोस्की आज जापानविरुद्ध गोल गर्दै आफ्नो गोलको खडेरी तोड्न चाहन्छ ।