एजेन्सी । विश्वकपको समूह चरणमा युरोपका दुई टोलीले राम्रो प्रर्दशन गरे, ती दुवै टोली समुह ‘जी’का थिए । जसले विश्व फुटबलमा अभागी टोलीको परिचय बनाए थिए । ती, इङ्ल्याण्ड र बेल्जियम थिए ।
समूह चरणका सुरुवाती दुई खेलमा प्रभावशाली जित निकाल्दै दुवै टोली एक खेल अगावै नकआउट चरण पुगिसकेका छन् । तर, समूह चरणको अन्तिम खेलमा भिड्दै गर्दा दुवैको लक्ष्य समूह विजेता बन्नु हुनेछ । यस हिसावमा दुवै टोलीलाई नकआउट चरणको तयारीका लागि अन्तिम अवसर प्राप्त छ ।
दुवै मुलुकले स्वर्णीम पुस्ताका खेलाडीबाट विश्वकपको उपाधिको आशा राखेको छ । तर, सधै अभागी टोलीको परिचय बनाएका दुवै टोलीको वास्तविक परिक्षा नकआउट चरणमा हुनेछ । त्यसको तयारीका लागि सम्भवत दुवै टोलीलाई अन्तिम अवसर आज प्राप्त छ । समूह चरणको अन्तिम खेलमा भिड्दै गर्दा दुवै टोलीले आफ्ना मुख्य खेलाडीलाई आराम दिन सक्नेछन् । किनकी इङ्ल्याण्ड र बेल्जियम समान ६ अंक सहित प्रतियोगिताको नकआउट चरणमा पुगिसकेका छन् ।
आजको खेलको विजेताले समूह विजेताको रुपमा अन्तिम १६ मा पुग्नेछ । दुवै टोलीको बराबरी अंक भए गोलको हिसावमा समूह विजेता छानिनेछ । समुहमा अंक विहिन पानामा र ट्युनेसियाबीचको खेलले समिकरणमा कुनै फरक पार्ने छैन ।
इङ्ल्याण्डका प्रशिक्षक ग्यारेथ साउथगेटले आफुहरुको खेल्ने शैलीमा कुनै परिवर्तन नआउने बताएका छन् । ‘हामी भिन्नै प्रतिस्पर्धीसंग खेल्न गइरहेका छौ । तर हामीले खेल्ने शैलीलाई परिवर्तन गर्ने छैनौ । हामीले आक्रमक खेल खेल्नेछौ त्यसबेला काउन्टर अट्याकमा पनि ध्यान दिन आवश्यक छ,’ उनले भने, ‘जब हामी डिफेन्समा उत्रन्छौ त्यसबेला हामीले ब्यक्तिगत र सामुहिक रुपमा हामी उच्चस्तरमा रहेको सुनिश्चित गर्नपर्छ ।’
बेल्जियमका प्रशिक्षक रोबर्ट मार्टिन्जले लामो समय इङ्लिस फुटबलमा बिताए । एभर्टनको प्रशिक्षकको रुपमा उनले एफ ए कपको उपाधि समेत जिते । जसले इङ्ल्याण्डको फुटबल संस्कृति र नयाँ पुस्ताको विकसित रुपलाई नजिकबाट नियालेका छन् । उनी भन्छन् ‘हामीसंग धेरै यस्ता खेलाडी छन्, जो विश्वकप जित्न सक्षम छन् । तर हामीलाई टिमको गति बनाउन आवश्यक छ ।’
इङ्ल्याण्डका इरिक डायरले बेल्जियमविरुद्ध प्लेइङ ११ बाट खेलको सुरुवात गर्न सक्नेछन् । चोट बोकेका डेल अलि निको हुँदै टोलीमा फर्कन सक्नेछन् । यता बेल्जियमका स्ट्राईकर रोमेलु लुकाकु चोटका कारण इङ्ल्याण्डविरुद्धको खेल गुमाउने पक्का भईसकेको छ ।
विश्वकपमा यसअघि इङल्याण्ड र बेल्जियम दुई पटक भिडेका छन् । दुवै खेलमा इङ्ल्याण्डको पक्षमा नतिजा आएको थियो । इङ्लिस टोलीले बेल्जियमविरुद्धको पछिल्ला ११ भिडन्त गुमाएको छैन् । सन् २०१२ मा भएको मैत्रिपुर्ण खेलमा इङल्याण्ड विजयी भएको थियो ।