बलिङमा चल्यो, ब्याटिङमा चल्न सकेन अमेरिका

काठमाडौं। बलिङमा उत्कृष्ट प्रदर्शन गरे पनि ब्याटिङमा चल्न नसक्दा अमेरिकाले आईसीसी टी–२० विश्वकपमा निराशाजनक सुरुआत गरेको छ।
शनिबार सम्पन्न खेलमा अमेरिका २९ रनले पराजित भएको हो। १६२ रनको लक्ष्य पछ्याएको अमेरिकाले २० ओभरमा ८ विकेट गुमाउँदै १३२ रन मात्र बनाउन सक्यो। योसँगै भारतले समूह ‘ए’मा दुई अंक जोडेको छ।
खेलको सुरुआतमै लगातार विकेट गुमाउँदा अमेरिका दबाबमा पर्यो। एन्ड्रिज गाउस (६) र साईतेजा मुक्कामल्ला (२) सस्तोमा आउट भए। कप्तान मोनाङ्क पटेल पनि खाता नखोली पभिलियन फर्किए।
माथिल्लो क्रम असफल भए पनि मिलिन्द कुमारले ३४ रनको उपयोगी इनिङ्स खेले भने सञ्जय कृष्णमूर्ति र शुभम रञ्जानेले आक्रामक ब्याटिङ प्रस्तुत गरे। कृष्णमूर्तिले ३७ रन बनाउँदा रञ्जानेले मात्र २२ बलमा ३७ रन जोड्दै रनगति तीव्र पारे।
तर, अन्य ब्याट्सम्यानले साथ दिन नसक्दा टोली ठूलो स्कोरतर्फ जान सकेन। अन्त्यतिर मोहम्मद मोहसिनले ८ रन जोडे भने शाडली भान स्काल्कवाइक २ रनमा अविजित रहे।
बलिङतर्फ मोहम्मद सिराजले सर्वाधिक ३ विकेट लिए। अरशदीप सिंह र अक्षर पटेलले समान २ विकेट राख्दा एक विकेट वरुण चक्रवर्तीको नाममा रह्यो।
यसअघि वानखडे मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १६२ रनको मध्यम लक्ष्य खडा गरेको थियो।
भारतीय कप्तान सूर्यकुमार यादवले उत्कृष्ट ब्याटिङ गर्दै सर्वाधिक ८४ रन जोडे। ४९ बल खेलेका उनले १० चौका र ४ छक्का प्रहार गर्दै इनिङ्स सम्हाले।
तिलक बर्मा २५ रनमा आउट भए भने इशान किसनले २० रनको योगदान दिए। अक्षर पटेलले पनि १४ रन जोड्दै टोलीको स्कोर १६० पार गराए।
अमेरिकाका बलर शाडली भान स्काल्कवाइक सर्वाधिक सफल रहे। उनले ४ ओभरमा २५ रन खर्चेर ४ विकेट लिँदै भारतीय ब्याटिङ लाइनअपलाई दबाबमा राखे।
हर्मित सिंहले २ विकेट हात पारे भने एक विकेट अलि खानको नाममा रह्यो।












