काठमाडौं । मनकामना केबलकार पोखरा अन्तराष्ट्रिय फुटबल प्रतियोगितामा आज (बुधबार) लिग विजेता मनाङ मस्र्याङ्दी क्लब र ब्रिगेड ब्वाइज क्लबबीच प्रतिस्पर्धा हुदैछ ।
पोखरा रंगशालामा हुने अन्तिम क्वाटरफाइनलमा दुबै टिम जित निकाल्दै सेमिफाइनल तय यात्रा गर्न चाहन्छन् । खेल दिउसो साढे २ बजे सुरु हुनेछ ।
विजेताले आगामी शुक्रबार क्यामरुनी क्लब दाउफिन्ससंग खेल्नेछ ।
ब्रिगेड ब्वाइज क्लब लिग सकिएपछि पहिलो पटक मोफसलको प्रतियोगितामा सहभागि भएको हो ।
मनाङ राष्ट्रिय टिमका खेलाडीले भरिएको क्लब हो । युवा खेलाडीको साथ पाएको ब्रिगेड भने मोफसलमा सफल सुरुवात गर्ने दाउमा छ । बिग्रेडले १२ औँ स्थानमा रहदै लिग प्रतियोगिताको अन्त्य गरेको थियो ।
लिगमा मनाङले ब्रिगेड ब्वाइजलाई ३–१ ले हराएको थियो ।
माघ ११ देखि १८ सम्म इटहरीमा भएको मदन भण्डारी स्मृति इटहरी गोल्डकपको मनाङ उपविजता टिम हो । फाइनलमा मनाङ क्लब विभागीय टिम आर्मीसँग २–० ले पराजित भएको थियो ।
बिग्रेडले आयोजक क्लबलाई १-० ले हराएर अन्तिम ८ मा प्रवेश गरेकोे थियो ।
विभागिय एपीएफ, क्यामरुनको दाउफिन्स र जापानको रिस्सो विश्वविद्यालयले सेमिफाइनल यात्रा तय गरिसकेका छन् । प्रतियोगिताको विजेताले ७ लाख ५५ हजार पाउनेछ ।
उपविजेतालाई ४ लाख ५ हजारमा चित्त बुझाउने छ । प्रतियोगितामा ए डिभिजन क्लब सहित ११ टिमको सहभागिता रहेको छ ।