राफिन्हा बालोन डि’ओरको दौडमा पाँचौं हुनु हास्यास्पद : नेयमार

काठमाडौं। यस वर्षको बालोन डि’ओरको दौडमा ओस्मान डेम्बेले र लामिन यमलसँगै बार्सिलोना तथा ब्राजिलियन विंगर राफिन्हा पनि बलियो दाबेदार मानिएका थिए।
गत सिजनमा बार्सिलोनाले जितेको घरेलु ट्रेबलमा सबैभन्दा धेरै गोल र असिस्टको योगदान राफिन्हा कै थियो। तर, अन्ततः डेम्बेले पहिलो र यमल दोस्रो स्थानमा रहँदा राफिन्हा भने पाँचौं स्थानमा सीमित भए।
यो नतिजाले उनका स्वदेशी सुपरस्टार नेयमारलाई समेत चकित बनाएको छ। उनले सामाजिक सञ्जाल इन्स्टाग्राममार्फत प्रतिक्रिया दिँदै लेखे,‘राफिन्हालाई पाँचौं स्थानमा राख्नु त पूर्ण रूपमा हास्यास्पद हो।’
सोमबार राति पेरिसको थिएटर डु शातलेमा आयोजित समारोहमा डेम्बेलेलाई पहिलोपटक बालोन डि’ओर प्रदान गरियो। दोस्रो स्थानमा यमल, तेस्रोमा पीएसजीका पोर्चुगिज मिडफिल्डर भिटिन्हा, चौथोमा लिभरपुलका स्टार मोहम्मद सलाह र पाँचौंमा राफिन्हा रहे।
गत सिजन च्याम्पियन्स लिगमा बार्सिलोनालाई फाइनलमा पुर्याउन नसके पनि राफिन्हाले १२ गोल र ८ असिस्टसहित लिओनल मेसीको कीर्तिमान तोडेका थिए।
२०११–१२ मा मेसीले च्याम्पियन्स लिगमा १९ गोलमा प्रत्यक्ष योगदान दिएका थिए, जुन एकै सिजनमा बार्सिलोनाका खेलाडीले गरेको सर्वाधिक योगदान थियो। यसबाहेक ला लिगा पुनः जित्ने यात्रामा राफिन्हाले १८ गोल गरेर टोलीलाई ठूलो योगदान दिएका थिए।
हाल बार्सिलोना ला लिगाको अंक तालिकामा दोस्रो स्थानमा छ। यस महिनामा उनीहरूले रियल ओभिडो र रियल सोसिडाडसँग खेल्नेछन्। त्यसपछि च्याम्पियन्स लिगमा बार्सिलोना डेम्बेलेको टोली पीएसजीसँग भिड्नेछ। यो खेल आगामी अक्टोबर १ मा हुने तय छ।