‘यमलले एक दिन बालोन डी’ओर जित्ने छन्’

काठमाडौं। बार्सिलोना प्रशिक्षक हान्सी फ्लिकले आफ्ना युवा स्टार लामिन यमलले एक दिन ‘बालोन डी’ओर’ जित्ने विश्वास व्यक्त गरेका छन्।
आगामी सोमबार पेरिसमा विश्वकै उत्कृष्ट फुटबलरलाई दिइने वार्षिक अवार्डका प्रमुख दाबेदारमध्ये यमल पनि एक हुन्। ‘एक दिन लामिनले यो ट्रफी उठाएको हामी देख्नेछौं,’ बार्सिलोनाको प्रशिक्षण मैदानमा आयोजित प्रि–म्याच पत्रकार सम्मेलनमा फ्लिकले शनिबार भने।
गत जुलाईमा १८ वर्ष पूरा गरेका यमलले बार्सिलोनालाई गत सिजन ला लिगा र कोपा डेल रे जिताउन मद्दत गरेका थिए। साथै उनले क्लबलाई च्याम्पियन्स लिग सेमिफाइनलसम्म पुर्याए। अन्तर्राष्ट्रिय स्तरमा उनले सन् २०२४ को जुलाईमा स्पेनलाई युरोपियन च्याम्पियनसिप जिताउन महत्त्वपूर्ण योगदान दिएका थिए।
यमलसहित बार्सिलोनाका राफिन्हा, पेड्री गोन्जालेज र रोबर्ट लेवान्डोस्की पनि यो अवार्डका लागि मनोनित छन्। पेरिस सेन्ट–जर्मेनका उस्मान डेम्बेले पनि मनोनित भएका छन्। उनले आफ्नो क्लबलाई पहिलो च्याम्पियन्स लिग उपाधि जिताउन महत्त्वपूर्ण भूमिका निर्वाह गरेका थिए। त्यसैले उनलाई पनि प्रमुख दाबेदार मानिएको छ।
फ्लिक पनि उत्कृष्ट प्रशिक्षकको अवार्डमा मनोनित भएका छन्। महिलातर्फ लगातार दुई वर्ष विजेता बनेकी एइताना बोनमातीसहित बार्सिलोनाका ६ खेलाडी ‘विमेन्स बालोन डी’ओर’का लागि मनोनित भएका छन्।
‘मेरो लागि मनोनित हुनु नै ठूलो सम्मान हो,’ फ्लिकले भने,‘हेरौं, जसले यो ट्रफी जित्छन्, सबै त्यसका योग्य छन्।’ फ्लिकले थपे,‘म यसलाई आनन्दपूर्वक लिन चाहन्छु। विजेताप्रति सम्मान देखाउन चाहन्छु। यो मेरो लागि महत्त्वपूर्ण कुरा हो।’
गत वर्ष रियल dड्रिडले आफ्ना खेलाडी भिनिसियस जुनियरले अवार्ड नजित्ने थाहा पाएपछि कार्यक्रममै भाग लिएको थिएन। सो अवार्ड म्यानचेस्टर सिटीका मिडफिल्डर रोड्रीले जितेका थिए।