चोटले पछ्याइरहेको नेयमार

काठमाडौं। नेयमार र चोटबीचको सम्बन्ध यति मजबुत छ कि यो जोडी छुट्टिने नाम नै लिँदैनन्। पेरिस सेन्ट जर्मेन (पीएसजी) छोडेर साउदी अरब पुगेका थिए।
तर, त्यहाँबाट बाल्यकालको क्लब सान्तोस फर्किँदासमेत उनलाई चोटले पछ्याउन छाडेको छैन। यही कारणले उनी ब्राजिलको राष्ट्रिय टिमबाट पनि लामो समय टाढा रहनुपरेको छ।
३३ वर्षीय नेयमार अक्टोबर २०२३ यता चोटकै कारण ब्राजिलका खेलमा सहभागी हुन सकेका छैनन्। यस वर्ष जनवरीमा उनी साउदी क्लब अल-हिलालबाट सान्तोस फर्किएका थिए।
उनी मैदानमा फर्किए पनि प्रशिक्षक कार्लो एन्सेलोट्टीको टोलीमा अहिलेसम्म स्थान बनाउन सकेका छैनन्। मार्चदेखि ब्राजिलले विश्वकप छनोटका ६ खेल खेले पनि नेयमारलाई कुनैमा पनि खेलमा बोलाइएको छैन।
यसै महिना ब्राजिलको दुईवटा छनोट खेल अघि नेयमार फिट थिए, तर एन्सेलोट्टीले उनको फिटनेस पर्याप्त नभएको भन्दै टोलीमा समावेश गरेनन्। अक्टोबरमा एसिया भ्रमणका क्रममा ब्राजिलले दुई मैत्री खेल खेल्ने कार्यक्रम छ।
पहिलो खेल १० अक्टोबरमा दक्षिण कोरियाविरुद्ध र अर्को खेल १४ अक्टोबरमा जापानविरुद्ध हुने तय छ। फिजिकल समस्या समाधान भए नेयमार फर्कने सम्भावना थियो। तर, त्यो आशा पनि अब निराशामा परिणत भएको छ। कारण हो, फेरि चोट।
स्थानीय समय अनुसार बिहीबार सान्तोसको प्रशिक्षण मैदान सिटी रेइ पेलमा अभ्यासकै क्रममा नेयमारले दाहिने खुट्टाको तीघ्रामा चोट खेपेका हुन्। उनी तुरुन्तै मैदान छाडेर निस्किएएका थिए। शुक्रबार क्लबले परीक्षणपछि उनको रेक्टस फेमोरिस मांसपेशीमा चोट लागेको पुष्टि गरेको छ।
अहिले उनलाई चिकित्सकको निगरानीमा राखिएको छ। ब्राजिली पत्रकार लुकास मिनारेल्लीका अनुसार नेयमार कम्तीमा एक महिना मैदानबाहिर रहनुपर्ने देखिएको छ।
यदि यो अनुमान सही भयो भने दक्षिण कोरिया र जापानविरुद्धका खेलमा उनको उपस्थित हुने सम्भावना अब शून्य हुन्छ।













-1762763443397.jpg&w=3840&q=75)