रोनाल्डोबिनै अल–नासरको फराकिलो जित

काठमाडौं। क्रिस्टियानो रोनाल्डो बुधबार आराममा बसे पनि साउदी क्लब अल–नासरले एएफसी कपमा सानदार सुरुआत गरेको छ।
ताजिकिस्तानको इस्तिकलोललाई रियाधमा भएको खेलमा अल–नासरले ५–० ले पराजित गरेको हो। लिभरपुल पूर्वस्टार साडियो मानेले खेलको अन्त्यतिर गोल गर्दै जितलाई थप फराकिलो बनाए।
त्यसअघि किङ्स्ले कोमन, अब्दुर्रहमान घारीब र ब्राजिली खेलाडी वेस्ली तथा एन्जेलोले गोल गरेका थिए। एसियाली च्याम्पियन्स लिग टू (दोस्रो तहको प्रतियोगिता) मा अल–नासरलाई उपाधि दावेदार मानिएको छ।
यसैबीच, एसियाली च्याम्पियन्स लिग इलिटमा बुधबार मैदान उत्रिएका तीनै चिनियाँ क्लबले सुरुआती खेलमा हार बेहोरेको छ। शाङ्घाइ पोर्टले घरेलु मैदानमै जापानी क्लब भिसेल कोबेबाट ३–० को हार खेप्यो।
त्यस्तै चेंग्दु रोङचेंग र शाङ्घाइ सेनहुवालाई दक्षिण कोरियाली क्लब उल्सान एचडी र गाङ्वोन एफसीले पराजित गरे।