पीएसजीलाई रोक्न सक्ने को?

काठमाडौं। च्याम्पियन्स लिग फेरि सुरु हुँदैछ। तर, प्रश्न एउटै छ – गत सिजन इन्टर मिलानलाई ५–० ले हराउँदै ऐतिहासिक उपाधि जितेको पेरिस सेन्ट–जर्मेन (पीएसजी) लाई यसपटक रोक्न सक्ने को निस्किन्छ?
गत सिजनदेखि सुरु भएको ३६ टोलीको नयाँ लिग ढाँचाले प्रतियोगितामा अनिश्चितता थपेको छ। युरोपका ठूला क्लबहरूले सजिलै सुरुआती चरण पार गर्ने दिन अब समाप्त भइसकेको छ। रियल मड्रिड र म्यानचेस्टर सिटीजस्ता ठूला टोलीहरू पनि अन्तिम खेलसम्म संघर्ष गर्नुपर्ने अवस्थामा पुगेका थिए। तर, अन्तिममा भने पीएसजी नै विजयी बन्यो।
अब दोस्रो सिजन सुरु हुँदैछ र सबैको नजर फेरि पनि त्यही प्रश्नमा टक्क अडिएको छ– पीएसजीलाईरोक्न सक्ने को निस्किन्छ?
रियलको महत्वाकांक्षायुरोपेली फुटबल इतिहासकै सबैभन्दा सफल क्लब रियल यसपटक सबल चुनौतीकर्ता बनेको छ। १५ पटक उपाधि जितिसकेको टोलीले मंगलबार घरेलु मैदानमा मार्सेईविरुद्ध खेल्दै प्रतियोगिता सुरु गर्दैछ।
नयाँ प्रशिक्षक जाबी अलोन्सोको आगमनसँगै टोलीले नयाँ लय समाएको छ। १७० मिलियन युरोको खर्चमा टोली बलियो बनाइएको छ। ला लिगामा लगातार चार जित, रियल सोसिडाडविरुद्ध १० खेलाडीमै २–१ को संघर्षपूर्ण जितलगायत यी सबैले रियलको आत्मविश्वास बढाएको छ। स्टार फरवार्ड किलियन एमबाप्पेले चार खेलमै चार गोल गर्दै उत्कृष्ट सुरुआत गरेका छन्।
गत सिजन आर्सनलसँग ५–१ को समग्र पराजय हुँदा रियलको कमजोरी देखाएको थियो। तर, अलोन्सोले अनुशासन र सामूहिकतालाई प्राथमिकतामा राखेका छन्। उनको व्यवहारिक रणनीति र टोलीको आक्रमणात्मक क्षमतालेरियललाई पीएसजीको वास्तविक प्रतिस्पर्धी बनाउन सक्छ।
अन्य चुनौतीकर्ता
बार्सिलोना गत सिजन घरेलु ट्रेबल जितेर आत्मविश्वासमा छ। म्यानचेस्टर सिटी पनि आफ्नै शक्ति र पेप ग्वार्डियोला शैलीका कारण कहिल्यै बाहिरिन नसक्ने दावेदार बनेको छ। आर्सनलले गत वर्ष देखाएको ऊर्जाले पनि उनीहरूलाई ध्यानमा राख्नुपर्ने बनाउँछ।
तर, सबै प्रश्न फेरि त्यहीँ आइपुग्छ– पीएसजीलाई रोक्न सक्ने को निस्किन्छ? गत वर्षको ऐतिहासिक विजयले उनीहरूलाई अझ आत्मविश्वासी बनाएको छ। तर, च्याम्पियन्स लिगमा निरन्तरता कायम गर्न सक्ने क्षमता मात्र केही क्लबहरूले देखाएका छन्। रियलले २०१६–१८ को तीन उपाधिपछि अहिलेसम्म कसैले पनि लगातार उपाधि जितेको छैन।
यसैले आगामी महिना युरोपेली फुटबलले उत्तर खोज्नेछ– पीएसजीको पुनः दबदबा कायम हुन्छ कि अन्त्य?