बंगलादेशमा छन् कप्तान किरण

काठमाडौं। नेपालमा फुटबल गतिविधि नभएपछि नेपाली राष्ट्रिय फुटबल टोलीका कप्तान किरणकुमार चेम्जोङले पनि आफ्नो गन्तव्य बंगलादेश बनाएका छन्। उनी केही समयअघि मात्रै बंगलादेशबाट नै फर्किएका थिए।
बंगलादेश पुलिस क्लबमा अनुबन्ध भइसकेका उनी प्रि–सिजन सक्काएर नेपालमा बंगलादेशसँगको दुई मैत्रीपूर्ण खेल खेल्न फर्किएका थिए। ६ सेप्टेम्बरमा भएको पहिलो मैत्रीपूर्ण खेलमा नेपालले फिफा वरीयतामा आफूभन्दा ८ स्थान तल रहेको बंगलादेशको ‘बी’ टोलीसँग गोलरहित बराबरी खेलेको थियो।
तर, ९ सेप्टेम्बरमा तय भएको अर्को खेल भने जेनजी प्रदर्शनका कारण रद्द भएको थियो। सेप्टेम्बर ८ मा सुरु भएको जेनजी प्रदर्शनको पहिलो दिन नै १९ जनाले ज्यान गुमाएका थिए। त्यसयता मृतकको संख्या ७२ पुगिसकेको छ।
हुन त कप्तान किरण लामो समयदेखि क्लबविहीन थिए। उनले अन्तिमपल्ट पञ्जाब एफसीबाट आई लिग खेलेका थिए। २०२४ सेप्टेम्बर १३ देखि सुरु भएको उक्त लिग १२ मार्च २०२५ मा सक्किएको थियो। उनको क्लबले १०औं स्थानमा रहेर लिग सक्काएको थियो। त्यसयता उनी नेपालमै थिए।
१० सेप्टेम्बरमा जेनजी प्रदर्शन सामान्य भएपछि किरण पुन: व्यवसायीका लिग खेल्न बंगलादेश फर्किएका हुन्। उनले खेल्ने बंगलादेश प्रिमियर लिग २७ सेप्टेम्बरदेखि सुरु हुनेछ।