एजेन्सी । दक्षिण अमेरिकी मुलुक उरुग्वे समूह विजेताको रुपमा रुसी विश्वकपको नकआउट चरण प्रवेश गरेको छ । समूह चरणको अन्तिम खेलमा आयोजक रुसलाई ३–० गोल अन्तरले पराजित गर्दै उरुग्वेले समूह विजेताको हैसियतमा प्रि क्वार्टरफाईनलको यात्रा तय गरेको हो । सुरुवाती दुई खेलमा उत्कृष्ट नतिजा निकालेको रुसले समूह 'ए' को उपविजेताको रुपमा अन्तिम १६ को यात्रा तय गर्यो ।
सामरा एरिनामा १० खेलाडीमा सिमित रुसविरुद्ध उरुग्वेले पहिलो हाफमै २–० को अग्रता बनाएको थियो । लुइस स्वारेजले खेलको १० औं मिनेटमा गोल गर्दै उरुग्वेलाई अग्रता दिलाएका थिए ।
खेलको २३ औं मिनेटमा रुसका डेनिस चेरिसेभले आत्मघाती गोल गरेपछि उरुग्वे २–० को स्थितीमा अगाडी बढेको थियो । डिएगो लाजलाटको कडा प्रहार चेरीसेभलाई लाग्दै गोलमा परिणत भएको थियो । खेलको ८९ मिनेटमा इडिन्सन काभानीले गोल गर्दै टोलीलाई ३–० को स्थितीमा पु¥याएका थिए ।
खेलको ३६ औं मिनेटमा रुसका इगोरले दोहोरो पहेलो कार्डसहित रातो कार्ड पाएर मैदानबाट बाहिरिएपछि रुस १० खेलाडीमा सिमित भएको छ ।
समूह 'ए' बाट उरुग्वे ९ अंक जोड्दै अन्तिम १६ को यात्रा तय गर्यो । उसले समुह चरणका तीनवटै खेलमा जित निकाल्यो । पहिलो खेलमा इजिप्ट र दोस्रो खेलमा साउदीलाई समान १–० ले हराउदै उरुग्वले ६ अंक जोडेको थियो । समुह चरणको अन्तिम खेलमा उसले रुसलाई सहजै पराजित गर्न सफल भयो ।
अब के हुन्छ ?
समुह विजेता बनेको उरुग्वेले ३ खेलबाट ९ अंक जोड्यो । उपविजेता बनेको रुसले ६ अंक जोडेको छ । दुवै टोलीले अन्तिम १६ मा स्थान पक्का गरेका छन् । उरुग्वेले अब समूह 'बी' को उपविजेतासंग प्रतिस्पर्धा गर्नेछ । रुसले समूह 'बी'को विजेतासंग अन्तिम १६ मा भिड्नेछ ।