मेसीले मलाई सधैं सम्मान गर्छन् : रोनाल्डो

काठमाडौं। पोर्चुगिज फरवार्ड क्रिस्टियानो रोनाल्डो र अर्जेन्टिनी फरवार्ड लिओनल मेसीका समर्थक प्रायः दुई ध्रुवमा बाँडिन्छन्।
तर, यी दुई खेलाडीबीच भने पारस्परिक सम्मान कायम छ। हालै रोनाल्डोले फेरि एक पटक आफूले वर्षौंदेखि गर्दै आएको कुरा दोहोर्याए।
‘म मेसीलाई धेरै माया गर्छु, हामी धेरै वर्षसम्म प्रतिद्वन्द्वी थियौं। मैले धेरै अन्तरवार्तामा भनेकै छु हामी १५ वर्ष एउटै स्टेजमा थियौं। म गाला कार्यक्रममा उसको अनुवादक पनि बनेको छु। उसले मलाई सधैं धेरै सम्मान गरेकोले म उसलाई पनि माया गर्छु,’ रोनाल्डोले आइतबार स्पेनसँग हुने नेसन्स लिग फाइनलअघि पत्रकार सम्मेलनमा भने।
रोनाल्डोले अर्को रोचक खुलासा पनि गरे। उनलाई अर्जेन्टिनाका क्लबले क्लब विश्वकप खेल्न प्रस्ताव गरेका रहेछन्। उनले कुन क्लबबाट प्रस्ताव आएको खुलाएनन्।
तर, अर्जेन्टिनबाट भने यसपल्ट बोका जुनियर्स र रिभर प्लेटले क्लब विश्वकप खेल्दैछन्। त्यसैले यो अड्कल लगाउन सकिन्छन् कि यी कुनै एक क्लबबाट उनलाई क्लब विश्वकप खेल्न प्रस्ताव गरिएको थियो।
उनी भन्छन्,‘मैले अर्जेन्टिनाबाट क्लब विश्वकप खेल्न निम्तो पाएको छु। म अर्जेन्टिना गएकै छैन, तर जान मन छ। मेरी श्रीमती पनि अर्जेन्टिनाकै हुन्।’
त्यही बीच स्पेनका युवा स्टार लामिन यमलले रोनाल्डोलाई ‘जीवित लिजेन्ड’ भन्दै ठूलो सम्मान प्रकट गरे। उनले भने, ‘क्रिस्टियानो रोनाल्डो एक लेजेन्ड हुनुहुन्छ। म उहाँलाई धेरै सम्मान गर्छु। तर, मेरो काम भनेको जित्नु हो र त्यही गर्न चाहन्छु।’














