विश्वकप २०२६ अघि रोनाल्डो कति खेल निलम्बनमा पर्लान्?

काठमाडौं। क्रिस्टियानो रोनाल्डोले २०२६ विश्वकप अघि कति खेलको प्रतिबन्ध भोग्नुपर्ला? यो उत्तर ठ्याक्कै थाहा पाउन उनले सम्भवतः तीन हप्ता कुर्नु पर्नेछ।
आयरल्यान्डविरुद्ध बिहीबार डब्लिनमा २–० ले हार्दा डारा ओ’शियालाई उनले कुहिनाले हानेका थिए। सोही कारण उनले रातो कार्ड पाए। यही किक–घटनाका लागि उनलाई दुई वा तीन खेलसम्म निलम्बन हुनसक्ने अनुमान गरिएको छ।
फिफाले पछिल्ला विश्वकप छनोट चरणपछि अनुशासनसम्बन्धी कारबाही र रातो कार्डका निर्णय सार्वजनिक गर्न करिब तीन हप्ता लिँदै आएको छ। अहिले भने मार्चसम्म कुनै प्ले–अफ नजिकै छैन। तर, रोनाल्डोलाई लिएर विश्वभर चासो अत्यधिक भएकाले यस मामिलाले चर्चा बढाएको छ। फिफाले यो केस कहिले टुंग्याइने भन्नेबारे समयसीको संकेत पनि दिएको छैन।
एक खेलको निलम्बन अनिवार्य हुन्छ, जुन उनी आइतबार आर्मेनियाविरुद्धको घरेलु खेलमा भोग्नेछन्। समूहको शीर्ष स्थानमा रहेको पोर्चुगलले त्यो खेल जिते विश्वकप २०२६ मा आफ्नो स्थान पक्का गर्नेछ।
फिफाका नियम के भन्छन्?
फिफा अनुशासन नियमअनुसार गम्भीर फाउल खेलमा कम्तीमा दुई खेल र हिंसात्मक व्यवहारमा कम्तीमा तीन खेल निलम्बन हुनेछ। अनिवार्य एक खेलभन्दा बढी हुने थप निलम्बन प्रत्यक्ष प्रतियोगितामै पूरा गर्नुपर्छ। अर्थात् यदि पोर्चुगल विश्वकपका लागि छनोट हुन्छ भने त्यो निलम्बन विश्वकपकै समूह चरणमा लागू हुनेछ, मैत्रीपूर्ण खेलमा होइन।
रातो कार्ड कसरी पाइयो?
एभिवा स्टेडियममा करिब एक घन्टाको खेल चलिरहँदा रोनाल्डोले बल क्रस हुँदै गर्दा आफूलाई पछाडिबाट समातिरहेका ओ’शियालाई कुहिनाले हानेका थिए। रेफ्रीले सुरुमा पहेँलो कार्ड दिए। तर, भिडियो असिस्टेड रेफ्री (भीएआर) ले समीक्षा गरेपछि रातो कार्ड देखाइएको थियो।
‘पूर्ण रूपमा कुहिनो हानेको जस्तो मलाई लाग्दैन,’ पोर्चुगलका प्रशिक्षक रोबेर्टो मार्टिनेजले भने,‘उनी आफूलाई डिफेन्डरबाट छुट्याउन खोज्दै थिए, क्यामेराम हेर्दा मात्रै यो निकै खराब देखिएको हो।’ प्रशिक्षकका अनुसार यो रातो कार्ड मान्य हुन सक्छ। तर, त्यो जानाजानी गरिएको हिंसात्मक प्रहार भने होइन।
यस्तै घटनामा कति निलम्बन?
गत महिनाका विश्वकप छनोट खेलहरूमा यस्तै गम्भीर फाउलका कारण कतारका तारिक सलमानलाई दुई खेल र बुरुन्डीका बोनफिल्स–कालेब बिमेनियमानालाई तीन खेलमा प्रतिबन्ध लगाइएको थियो। दुई चोटि दुवै घटनामा विपक्षी खेलाडीलाई खतरनाक चोट लागेको थियो।
रोनाल्डोले पोर्चुगलका लागि २२६ खेलमा पहिलो पटक रातो कार्ड पाएका हुन्। ‘उनलाई खेलभरि समातियो, तानियो र धकेलियो,’ प्रशिक्षक मार्टिनेजले भने,‘उनको टीमप्रतिको प्रतिबद्धताका कारण यस्तो भयो, तर पहिलोपटक रातो कार्ड पाउनु निकै दुर्भाग्यपूर्ण हो।’
फिफाको अन्तिम निर्णय सम्भवतः डिसेम्बर ५ मा हुने विश्वकप समूह ‘ड्र’पछि सार्वजनिक हुनसक्ने बताइएको छ। त्यतिबेला पोर्चुगलका तीन समूह–प्रतिद्वन्द्वी पनि तय भइसकेका हुनेछन्।
४१ वर्ष लाग्न लागेको रोनाल्डो र अर्जेन्टिनाका कप्तान लिओनल मेसी दुबैले करिअरको ऐतिहासिक छैटौँ विश्वकप खेल्ने लक्ष्य राखेका छन्। मेसी २००५ मा डेब्यू खेलमै रातो कार्ड पाएका थिए। उनको दोस्रो रातो कार्ड २०१९ को कोपा अमेरिकामा पाएका हुन्।














