दक्षिण कोरिया लगातार ११ पटक विश्वकपमा छनोट

काठमाडौं। दक्षिण कोरिया विश्व फुटबलको इतिहासमा लगातार ११ पटक विश्वकपमा छनोट हुने छैटौं राष्ट्र बनेको छ। यो कीर्तिमान अहिलेसम्म फुटबलको जन्मस्थल इङ्ल्यान्डलेसमेत कायम गर्न सकेको छैन।
मुख्य प्रशिक्षक हङ म्युङ बोको नेतृत्वमा बिहीबार बसरास्थित इन्टरनेसनल स्टेडियममा भएको एसियाली छनोटको तेस्रो चरणअन्तर्गत समूह बीको नवौं खेलमा इराकलाई २–० ले पराजित गर्दै दक्षिण कोरियाले २०२६ मा संयुक्त राज्य अमेरिका, क्यानडा र मेक्सिकोमा हुने विश्वकपमा स्थान पक्का गरेको हो।
यो जितसँगै दक्षिण कोरियाले समूह बीमा कम्तीमा दोस्रो स्थान सुरक्षित गरेको छ। योसँगै आउँदो मंगलबार कुवेतसँग हुने अन्तिम खेलको परिणामको प्रभाव पर्ने छैन। समूहका शीर्ष दुई टोलीले सिधै विश्वकपको टिकट पाउँछन्।
दक्षिण कोरियाले ९ खेलमा ५ जित र ४ बराबरीसहित १९ अंक पुर्याएको छ, जुन तेस्रो स्थानमा रहेको इराकभन्दा ७ अंक बढी हो। दक्षिण कोरियाले सन् १९८६ मा मेक्सिको आयोजना भएको विश्वकपबाट लगातार सहभागिता जनाउँदै आएको छ।
यो विश्वकपको इतिहासमा छैटौं सबैभन्दा लामो छनोट यात्रा हो। ब्राजिलले १९३० देखि हालसम्म सबै २२ संस्करणमा भाग लिएर कीर्तिमान राखेको छ। जर्मनीले १९५४ देखि लगातार १८ पटक सहभागिता जनाएको छ। अर्जेन्टिना र इटलीले समान १४ पटक लगातार विश्वकप खेलेको छ। स्पेनले १९७८ बाट अहिलेसम्म १२ पटक लगातार भाग लिएको छ।
अब कोरिया यी सबै शक्तिशाली राष्ट्रपछि छैटौं स्थानमा उभिएको छ। युरोपमा कठिन प्रतिस्पर्धा भएकाले इङ्ल्यान्ड र फ्रान्सले पनि निरन्तरता कायम गर्न सकेका छैनन्। दुवै देशको लगातार सहभागिता हालसम्म ७ पटकसम्ममा सीमित छ (सन् १९९८ देखि)।
एसियाली फुटबल महासंघ (एएफसी) अन्तर्गत जापानले ८ पटक लगातार विश्वकप खेल्दै दक्षिण कोरियालाई पछ्याइरहेको छ।कोरियाले १९५४ मा पहिलोपटक स्विट्जरल्यान्डमा विश्वकप खेलेको थियो। त्योसहित उसले अब १२ पटक विश्वकपमा सहभागिता जनाउने छ।
तेगुक वारियर्स (दक्षिण कोरियाली टोली) ले सन् २००२ मा सहआयोजकको (जापानसँग) रूपमा सेमिफाइनलसम्म यात्रा गरेको थियो। सन् २०१० र २०२२ मा राउन्ड अफ १६ सम्म पुगेको थियो।














