असफल यमल

काठमाडौं। इन्जुरी समयको लगभग छैटौं मिनेटमा लमिन यमल बल लिएर पेनाल्टी क्षेत्रमा छिरे। अगाडि गोलकिपर मात्रै थिए।
रक्षात्मक चुनौती भइरहे पनि १७ वर्षीय स्पेनिस युवा फरवार्ड गोल गर्ने उत्कृष्ट स्थितिमा थिए। तर, यमलको कमजोर बायाँ खुट्टाको प्रहार सिधै इन्टर मिलानका गोलकिपर यान सोमेरको हातमा पुग्यो। जुन क्षणले बार्सिलोनाको दशकपछि च्याम्पियन्स लिग फाइनल खेल्ने आशा तुहायो।
यमलले मंगलबारको दोस्रो लेगमा पनि प्रभावशाली प्रदर्शन गरे। मौका सिर्जना गरे र विपक्षीको लागि निरन्तर खतरा बने। तर, त्यो प्रयास बार्सिलोनालाई सन् २०१५ यता पहिलो पटक फाइनलमा पुर्याउन पर्याप्त भएन।
गोल गर्ने सुनौलो अवसरमा उनी चुकेपछि खेल ३–३ मा सकियो। त्यसपछि इन्टर मिलानले अतिरिक्त समयमा ४–३ को जित निकाल्दै समग्रमा ७–६ को जितसहित फाइनलको यात्रा तय गर्यो।
पहिलो लेगमा बार्सिलोनाको घरेलु मैदानमा यमलले सुन्दर गोल गरेका थिए। तर, सान सिरोमा पुनः जादू देखाउन सकेनन्। अतिरिक्त समयमा अर्को प्रयास पनि गरेका थिए। तर, सोमेरले फिङ्गरटिप बचाउ गर्दै इन्टरको अग्रता जोगाए।
‘कुन बचाउ सम्झिन्छु भने यमलको अन्तिम प्रहार। ऊ एक असाधारण खेलाडी हो। तर, भाग्यवश त्यो बल भित्र जान सकेन। हामी ३–२ ले पछाडि परेको बेलामा धेरै टोली हार मान्थे। तर, हामी हतोत्सायी भएनौं र खेल जित्यौं,’ उनले भने।
यसअघि पनि सोमेरले यमलका प्रहारहरू रोक्न केही सानदार बचाउ गरेका थिए, जसमा ७७औं मिनेटमा एक हातले डाइभ गर्दै टाढाबाट आएको बल विशेष थियो। यमलले उक्त मौका गुमाउनु, फ्रान्चेस्को अचेर्बीले बराबरी गोल गर्नु र राफिन्हाले ८७औं मिनेटमा बार्सिलोनालाई फेरि अग्रता दिलाउनु रोमाञ्चक क्षण बन्यो।
खेल सकिँदा यमल निराश मुद्रामा देखिए। टी सर्टले अनुहार छोपे। यदि त्यो गोल गएको भए यो उनी र क्लब दुवैका लागि ऐतिहासिक क्षण बन्ने थियो। बार्सिलोनाले सन् २०१५ मा पाँचौं च्याम्पियन्स लिग उपाधि जितेको थियो। त्यस यता पहिलो पटक फाइनल पुग्ने लक्ष्यमा थियो। यमलले आफ्नो क्लब र राष्ट्रिय टोली दुवैका लागि हालसम्म उत्कृष्ट सुरुआत गरेका छन्, तर यो रात उनको लागि अफसोसपूर्ण रह्यो।









-1763473683107.jpeg&w=3840&q=75)
-1763457989968.jpeg&w=3840&q=75)


-1763450218248.jpg&w=3840&q=75)