रियलको जितमा एमबाप्पेको दुई गोल

काठमाडौं। किलियन एमबाप्पेले दुवै हाफमा गोल गर्दै रियल मड्रिडलाई आइतबार सेल्टा भिगोविरुद्ध ३–२ को जित दिलाएका छन्। योसँगै रियलले स्पेनिस ला लिगाको उपाधि दौडमा बार्सिलोनाको पछ्याइरहने मौका जोगाएको छ।
अर्डा गुलेरले पनि गोल गरेपछि रियलले दोस्रो हाफको सुरुमै ३–० को अग्रता बनाएको थियो। तर, अन्त्यतिर दुई गोल फर्काउँदै सेल्टाले खेलमा पुनः फर्किने प्रयास गरे पनि सफल रहन सकेन।
७८औं मिनेटमा पाब्लो डुरानको प्रहार रियलका गोलरक्षक थिबाउ कोर्टुवाले छेक्दा बल गोललाइनमै रोकिन पुगेको थियो। अन्तिम मिनेटमा कोर्टुवाले थप दुई महत्त्वपूर्ण बचाउ गर्दै जित सुरक्षित गरे।
यो जितपछि रियल तालिकामा फेरि बार्सिलोनाभन्दा चार अंकले पछि रह्यो। दुवै टोलीबीचको अन्तिम ‘एल क्लासिको’ खेल आगामी आइतबार बार्सिलोनामा हुनेछ।
शनिबार बार्सिलोनाले पुछारको टोली भालाडोलिडविरुद्ध २–१ को जित निकाल्दै शीर्ष स्थान कायम राखेको थियो। प्रशिक्षक हान्सी फ्लिकले च्याम्पियन्स लिग सेमिफाइनलअघि अधिकांश नियमित खेलाडीलाई विश्राम दिएका थिए। बार्सिलोना र इन्टर मिलानबीचको पहिलो लेग ३–३ को बराबरीमा सकिएको थियो।
३३औं मिनेटमा गुलेरले रियललाई अग्रता दिलाए। त्यसपछि ३९औं मिनेटमा एमबाप्पेले उत्कृष्ट प्रहारमार्फत दोस्रो गोल गरे। ४८औं मिनेटमा काउन्टर अट्याकबाट तेस्रो गोल थपे। फ्रेन्च स्टार एमबाप्पेले मार्चपछि पहिलो पटक लिगमा गोल गरेका हुन्।
६९औं मिनेटमा जाभी रोड्रिगेजले सेल्टाको लागि पहिलो गोल गरे। ७६औं मिनेटमा विलिओट स्वेडबर्गले दोस्रो गोल गर्दै खेलमा रोमाञ्चकता थपे।
त्यसपछि पाब्लो डुरानको प्रहार गोल लाइनमै रोकिएको क्षण सेल्टाका लागि निर्णायक बन्यो। ‘दुर्भाग्यपूर्ण रह्यो। हामीसँग मौका थियो। पाब्लोको त्यो प्रहार लगभग गोल भइसकेको थियो। भाग्यले साथ दिएन,’ सेल्टाका स्ट्राइकर बोर्हा इग्लेसियसले भने।
भिल्लारियलविरुद्ध ३–० को जितपछि आत्मविश्वास बढाएको सेल्टा सातौं स्थानमा यथावत् रह्यो। खेलको अन्त्यतिर रियलले अग्रता जोगाउने संघर्ष गर्दा बर्नाबेउका समर्थकहरूले केही असन्तोष पोखेका थिए।
रियलको यो ला लिगामा लगातार चौथो जित हो। गत साता बार्सिलोनासँग कोपा डेल रे फाइनलमा रियल पराजित भएको थियो। अघिल्लो महिना आर्सेनलसँग च्याम्पियन्स लिगमा पराजित हुँदै रियल क्वार्टरफाइनलबाट बाहिरिएको थियो।









-1763473683107.jpeg&w=3840&q=75)
-1763457989968.jpeg&w=3840&q=75)


-1763450218248.jpg&w=3840&q=75)